नेपाली गायन क्षेत्रमा गायक दुर्गेश थापाको चर्चा खुबै छ । ५ महिना अगाडि सार्वजनिक भएको गीत ‘दुश्मन हेरेको हेर्यै’ सफल भएपछि दुर्गेशको चर्चा चुलिएको छ । यो गीतले ५ महिनामै १० करोडको भ्यूज पाएको छ ।
गीतले १० करोड भ्यूज पाएपछि दुर्गेशलाई बधाइको ओइरो नै लागेको छ । दुर्गेशलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बधाई दिएका छन् ।
प्रधानमन्त्री ओलीले सामाजिक संजालमा लेखेका छन्–‘आजको नयाँ पिँढीले बेग्लै स्वादका गीत–संगीतमा रुचि देखाउन थालेको ‘दुश्मन हेरेको हेर्यै’ गीतको भ्यूबाट थाहा हुन्छ । दुर्गेश थापाको यो गीत सुन्नेको संख्या पाँच महिनामा १० करोड पुगेको छ । गीतका सर्जक दुर्गेश थापालाई बधाई छ ।
प्रधानमन्त्रीको बधाई पाएपछि गायक थापा भने भावुक बनेका छन् । उनले लेखेका छन्–‘नयाँ पुस्ताको सिर्जना, अभिव्यक्ति र परिश्रमप्रिति देशकै सम्माननिय प्रधानमन्त्रीज्यूले देखाउनु भएको चासो, संवेदना र सम्मानले मलाई असाध्यै भावुक तुल्याएको छ । देशको प्रधानमन्त्रीज्यूले नेपाली गीत–संगीतको मूल्य र संभावना चिन्नु भएको यो क्षण सम्पूर्ण सिर्जनशिल पुस्ताका लागि गर्वको विषय पक्कै हो । उहाँको शब्द केवल एउटा बधाई मात्र थिएन, त्यो नयाँ सोच, नयाँ उर्जा र नयाँ आशाको सम्बोधन थियो । म प्रधानमन्त्रीज्यूप्रतिको हार्दिक कृतज्ञता प्रकट गर्दछु ।’
गायक थापा अब अष्ट्रेलिया टुरबाट सांगीतिक यात्राको सुरुवात गर्दैछन् ।
प्रतिक्रिया