‘हर्ष’को प्रदर्शन मिति मंसिर १२ मा तोकियो



‘हर्ष’ फिल्मको प्रदर्शन मिति तोकिएको छ । पोष्ट प्रोडक्सनमा रहेको यो फिल्मको प्रदर्शन मंसिर १२ गतेबाट गर्ने घोषणा यसको निर्माणपक्षले गरेको छ । फिल्मको टाइटल भिडियो सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको हो ।

फिल्मकी निर्देशक एकता पौडेलले टाइटल भिडियोको सुरुवातमा नै यो फिल्म स्वर्गीय शिव रेग्मीप्रति समर्पित रहेको बताइन् । शिव रेग्मी एकताका मामा हुन् ।

यो फिल्मको छायांकन चितवनमा गरिएको छ । हाल फिल्मको धमाधम पोष्ट प्रोडक्सनको काम चलिरहेको छ ।

फिल्ममा खगेन्द्र लामिछाने, वर्षा राउत, निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेन प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन तथा संगीता नापितको अभिनय छ ।

अष्टलक्ष्मी प्रोडक्सन र ई–प्राइम मुभिजको व्यानरमा निर्माण भएको यो फिल्ममा निर्देशक पौडेलकै कथा छ । फिल्मले पारिवारिक र सामाजिक कथालाई प्रस्तुत गर्नेछ । फिल्ममा आलोक शुक्लाको छायांकन, समीर र हिमाल, वसन्त सापकोटा तथा एलिस कार्कीको संगीत, लोकेश बज्राचार्यको सम्पादन, सुनील क्षेत्री र निर्देशक पौडेलकै कोरियोग्राफी छ ।

प्रशन्न पौडेल र विकास पौडेलको लगानी रहेको फिल्ममा हिक्मत चोखल कार्यकारी निर्माताको रुपमा छन् ।