अनमोलले साइन गरे ‘ए मेरो हजुर ५’



चकलेटी नायक अनमोल केसीले नयाँ फिल्म साइन गरेका छन् । अनमोलले नयाँ फिल्म ‘ए मेरो हजुर ५’मा आज काम गर्ने सहमती गरेका हुन् ।

सुहाना इन्टरटेन्मेन्टको व्यानरमा निर्माण हुन लागेको यो प्रोजेक्ट लामो समयदेखि अलमलिएको थियो । फिल्मका लागि निर्माण टिमले विभिन्न चरणमा नायकहरुसँग कुरा गरेको थियो ।

सुरुवातमा अनमोलले काम नगर्ने जस्तो देखिएपछि यसका निर्माता सुनीलकुमार थापा र निर्देशक झरना थापा अन्य नायकहरुसँग छलफलमा अगाडि बढेका थिए । तर, फिल्म निर्माण अन्यौलमा थियो ।

अन्ततः फिल्मको तेस्रो र चौथो सिरिजमा काम गरेका नायक अनमोल केसीले नै फिल्ममा काम गर्ने पक्का भएको छ । आज अनमोलले फिल्मका लागि कागजी संझौता गरेका हुन् ।

यो फिल्मको छायांकन तिहारपछि सुरु गर्ने योजना निर्माणपक्षको छ ।

फिल्म ‘ए मेरो हजुर ५’मा अनमोलको जोडीको रुपमा नायिका सुहाना थापाले काम गर्नेछिन् ।

अनमोल केही दिनमै होम प्रोडक्सनको फिल्म ‘बाटुलो जुन’को छायांकन सुरु गर्दैछन् । यो फिल्मको छायांकन करिब १० दिनसम्म चित्लाङमा हुनेछ । यसपछि, फेरि अनमोलले फिल्म ‘जेरीः अन टप’को काम सक्नेछन् । यो फिल्मको बाँकी रहेको काम सकेपछि अनमोलले ‘बाटुलो जुन’को बाँकी काम सक्नेछन् ।

यी दुवै फिल्म सकेपछि अनमोलले ‘ए मेरो हजुर ५’को छायांकन अगाडि बढाउनेछन् । अनमोलले फिल्मको तेस्रो र चौथो श्रृङ्खलामा काम गरिसकेका छन् । फिल्मलाई सुनीलकुमार थापाले निर्माण गर्दैछन् ।