टिकटकर रमा बस्नेत अझै थुनामै, हालिन् बन्दी प्रत्यक्षीकरणको निवेदन


काठमाडौं । टिकटकर रमा बस्नेत अझै प्रहरी हिरासतमै छिन् । खोटाङको हलेसीतुवाचुङ नगरपालिका–६ घर भई भक्तपुर बस्ने ३१ वर्षीयाबस्नेतलाई असार १ गते नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको थियो ।

ब्युरोले ‘टिकटकमार्फत नियोजित रूपमा जातीय साम्प्रदायिक भावनामा खलल पुर्‍याउनुका साथै प्रतिष्ठित व्यक्ति तथा संस्था र सम्प्रदायप्रति नकारात्मक धारणा फैलाएर चरित्र हत्या गरेको विषयमा व्यक्ति पहिचानका लागि आवश्यक प्राविधिक विश्लेषण र अनुसन्धान गरी पक्राउ’ गरेको जनाएको थियो ।

दश दिनदेखि आफूलाई गैरकानूनी रुपमा थुनामा राखेको भन्दै बस्नेतले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन हालेकी छन् । रमाका बाबु बलदेव बस्नेतले दायर गरेको निवेदनमाथि मंगलबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ भइसकेको छ । बलदेवले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, प्रहरीको साइबर ब्यूरोलगायत विरुद्ध निवेदन दिएका हुन् ।

प्रहरीले टिकटकर बस्नेतलाई विद्युतीय कारोवार ऐनको उल्लंघन गरेको आरोपमा पक्राउ गरेको थियो । टिकटकर बस्नेतले बनाएका कतिपय भिडिओले उक्त कानुनको उल्लंघन भएको प्रहरीको जिकिर छ । उनले प्रधानमन्त्री केपी ओलीलाई लक्षित गर्दै उखाने र एमाले कार्यकर्तालाई गुखाने भनेर टिकटकमा भिडियो बनाएकी थिइन् ।