काठमाडौं । देशका ७५३ वटै स्थानीय तहले संविधानअनुसार मंगलबार (असार १०) आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने हो । अधिकांश स्थानीय तहले आज बजेट ल्याउँदैछन् । तर काठमाडौं महानगरपालिकाले भने पहिलोपटक समयमा बजेट ल्याउन नसक्ने भएको छ ।
यसअघिका आर्थिक वर्षहरूमा आन्तरिक विवादका बाबजुद बजेट १० असारभित्रै आउने गरेको थियो । तर आगामी आर्थिक वर्षको लागि बजेट समयमै नआउने निश्चित भएको प्रवक्ता नवीन मानन्धरले बताए । ‘नियमअनुसार आज बजेट आउनुपर्ने त हो । तर नआउने निश्चित भएको छ । अहिलेसम्म कार्यपालिका बैठक नै बस्न सकेको छैन । नगर सभामा नीति तथा कार्यक्रम र बजेट धेरै परको कुरा हो,’ उनले भने ।
गत पुसदेखि काठमाडौँ महानगरको कार्यपालिका बैठक बस्न सकेको छैन । काठमाडौँ भ्युटावरमा नक्सा पास विवादमा प्रमुख प्रशासकीय अधिकृतसँग जोडिएर महानगरमा आन्तरिक द्वन्द्व सुरु भएपछि बैठक बसेको छैन । त्यसअघि महानगरले महिनाको अन्तिम हप्ता एकचोटि कार्यपालिका बैठक राख्दै आएको थियो । नगर सभा सञ्चालन गर्ने निर्णय पनि कार्यपालिकाले नै गर्ने अभ्यास रहँदै आएको छ ।
महानगरपालिकाका मेयर बालेनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईलाई अस्वीकार गर्दा बजेट नै अन्योलमा परेको हो । बालेनले प्रमुख प्रशासकीय अधिकृत रागाईंलाई नगरसभाको सदस्य सचिवको रूपमा अस्वीकार गर्दै आएका छन् । बालेनले बिदामा बस्न दबाब दिए पनि गुरागाईले ठाडै अस्वीकार गरेपछि काठमाडौं महानगरको बजेट निर्धारित मितिमा नआउने निश्चित भएको हो ।
प्रतिक्रिया