‘कोशेढुंगा’ ४० देशमा एकसाथ रिलिज हुने



भदौको १२ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘कोशेढुंगा’लाई विश्वका ४० देशमा एकसाथ रिलिज गर्ने तयारी यसको निर्माणपक्षले गरेको छ ।

सरोज पौडेलको निर्देशनमा तयार भएको फिल्मलाई नेपालसँगै अमेरिका, अष्ट्रेलिया, जापान, यूके, क्यानडा लगायतका ४० बढी देशबाट एकसाथ रिलिज गर्न लागिएको हो ।

प्याट्रिक सुवेदीर रमेश ढकालको सेभेन सिज इन्टरटेशनलले यो फिल्मलाई विदेशी बजारमा वितरण गर्दैछ । फिल्मका निर्देशक पौडेलका अनुसार, रिलिजसम्म अन्य केही देश समेत थपिनेछन् ।

नेपाली फिल्मको इतिहासमै पहिलो पटक एकसाथ ४० वटा देशमा फिल्म रिलिज हुन लागेको दाबी निर्माणपक्षले गरेको छ ।

एकसाथ ४० वटा देशमा फिल्म रिलिज हुँदा नेपाली फिल्मले नयाँ उचाई पाउने विश्वास वितरकको छ ।

यो फिल्मको छायांकन स्याङ्जाको आधिखोला, त्रिवेणी र सिरुवारीमा गरिएको छ । काठमाडौंमा पनि सेट लगाएर फिल्म खिचिएको छ ।

फिल्मको निर्माणपक्षले नायिका सुरक्षा पन्तलाई स्थान दिदै फस्टलुक रिलिज गरिसकेको छ । फिल्ममा सुरक्षाको साथमा आर्यन सिग्देल, ऋचा शर्मा, मन्जिल कुमार, प्रवीण खतिवडा, हिउवाला गौतम, सरोज खनाल, विशाल पहारी, दिनेश काफ्ले, लोकमणि सापकोटा लगायतका कलाकारहरुको अभिनय छ ।

फिल्ममा प्रेविल कँडेल र किशोर अनुरागको लगानी छ । दिनेश खड्का कार्यकारी निर्माता रहेको फिल्ममा नहकुल खड्काको सम्पादन, आशिष अविरल र रिदम कँडेलको संगीत छ ।