केदारले साइन गरे ‘जहाजैमा’



निर्देशक कुषा चौलागाइले आफ्नो तेस्रो निर्देशकीय फिल्म ‘जहाजैमा’लाई बुलन्द बनाउन कुनै कसर बाँकी नराख्ने भएकी छिन् ।

फिल्मको प्रि– प्रोडक्सनमा निकै मिहिनेत भइरहेको छ । अब, यो फिल्ममा कलाकारहरुलाई पनि संझौता गर्न थालिएको छ ।

फिल्ममा जापानीज नायिका रुजेल इचिमियाले काम गर्ने पक्का भइसकेको छ । अब, यो फिल्ममा चर्चित कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ अनुबन्धित भएका छन् । आज फिल्मको निर्माण टिमले केदारसँग कागजी संझौता गरेका हो ।

कृषा र केदारले पहिलो पटक फिल्ममा सहकार्य गर्न लागेका हुन् । फिल्ममा केदार अनुवन्धित भएपछि कृषाले भनिन्–‘केदारजी अहिलेको सर्वाधिक रुचाइएको कलाकार हुनुहुन्छ । हाम्रो फिल्ममा उहाँको निकै नै महत्वपूर्ण भूमिका छ । उहाँलाई फिल्ममा भित्राउन पाउँदा निकै नै उत्साहित छौं ।’

यो फिल्मको हाल धमाधम प्रि–प्रोडक्सनको काम चलिरहेको छ । फिल्मको प्रि–प्रोडक्सनमा साथ दिन यसका निर्माता उज्ज्वल गुरागाँई जापानबाट नेपाल आएका छन् । आज कलाकार केदारसँग उज्ज्वलले कागजी संझौता गरेका हुन् । फिल्मले नेपाल, जापान र फिलिपिन्सको कथा भन्नेछ ।

यूएनए प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको फिल्मको छायांकन भदौबाट सुरु हुनेछ । फिल्मलाई नेपाल, जापान र फिलिपिन्समा खिचिनेछ । यो फिल्ममा पुरुषोत्तम प्रधानको डीओपी रहने पक्का भइसकेको छ ।