प्रदीपसँग एक्सन गर्दा सोनमको खुट्टा भाँचियो



फिल्म छायांकनका क्रममा नायक सोनम तोप्देन गम्भीर घाइते भएका छन् । उनको देब्रे खुट्टाको दुई ठाउँमा हड्डी भाँचिएको छ । हाल उनको पोखराको एक अस्पतालमा उपचार भइरहेको छ । सोनमले भने–‘एक साता अगाडि यस्तो घटना घटेको हो । अब, एक महिना भन्दा लामो समय आराम गर्नुपर्ने हुन्छ ।’

फिल्ममा नायक प्रदीप खड्कासँग एक्सनको दृश्य गर्ने क्रममा उनको खुट्टा भाँचिएको हो । प्रदीपले रुखबाट हाफ फालेर सोनमसँग फाइट खेल्नुपर्ने दृश्य थियो । सो दृश्य खिच्ने क्रममा प्रदीपको खुट्टा सोनमको खुट्टामा ठोकिएको थियो ।

सेटमा यस्तो घटना घटेपछि सोनमलाई हेलिकप्टरबाट पोखरा ल्याइएको थियो । सोनमको खुट्टा नै भाँचिएपछि उनको दृश्यको छायांकन अनिश्चित बनेको छ । सोनमले फिल्म ‘जलाकी’मा पनि काम गरिरहेका छन् ।

सोनमले अब केही महिना आराम गर्नुपर्ने हुन्छ । यसकारण, ‘ऐरी र जलाकी’ दुबै फिल्मको छायांकन प्रभावित हुने देखिएको छ ।

जीवन थापाको निर्देशनमा बनिरहेको यो फिल्मको छायांकन ढोरपाटनमा भइरहेको छ । फिल्ममा नायक धिरज मगरको पनि अभिनय रहनेछ ।