काठमाडौं । एकपछि अर्को पत्रकारविरुद्ध अदालतको अवेहलना मुद्दा लगाएर नेपाली मिडियालाई थला पार्ने खेल सुरु भएको छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीको पालामा पत्रकारले बढी असुरक्षित महसुस गरेका हुन् ।
राजनीतिक दल र तिनका नेता, सत्ता संरक्षित ‘बिचौलिया’ र न्यापालिकाबाट एक साथ नेपाली प्रेसमाथिको आक्रमण जारी छ । संरचना र सत्ताबाट नेपाली प्रेसमाथिको यो आक्रमण इतिहासमै बढी हो।
केही दिनअघि नेपालखबर र बिजमान्डुलाई समाचार हटाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियो । समाचार लेखेकै कारण फेरि हिमालमिडिया प्रा.लि., हिमालमिडियाका प्रकाशक कनकमणि दीक्षित, सम्पादक सन्तगाहा मगर र वरिष्ठ विशेष संवाददाता मनबहादुर बस्नेतविरुद्ध अदालतको अवहेलनाको मुद्दा दायर भएको छ ।
समाचारकै कारण दृष्टिन्यूजका प्रकाशक तथा सम्पादक शम्भु श्रेष्ठ र दृष्टि अनलाइनका सम्पादक एमपी सुब्बाविरुद्ध अदालतकै कर्मचारीहरुका प्रतिवेदनका आधारमा फौजदारी अभियोगमा मुद्दा दर्ता भएको छ । मंगलबार विशेष अदालतका ६ जना न्यायाधीशको इजलासले समाचार यथास्थितिमा राख्न भन्दै सबै प्रतिवादीलाई अदालतमा बयानका लागि उपस्थित हुन आदेश सुनाएको छ ।
पत्रकार दिलभूषण पाठकलाई टफ टक यूट्यूब च्यानलमा प्रसारण भएको एउटा ‘एक्स्प्लेनर’ का कारण विद्युतीय कारोबारको कसूरमा मुद्दा दायर भएको छ ।
सत्ता र संरचनाबाट नेपाली प्रेसमाथिको जारी यस प्रकारको आक्रमण इतिहासमै बढी हो । त्यसकारण नेपाली प्रेसले ऐतिहासिक संकटको सामना गरिरहेको छ । तर पत्रकार महासंघ, विभिन्न दलमा आबद्ध दलीय पत्रकारहरू यसबारेमा बोल्न डराएका छन् ।
अहिलेको जस्तो प्रेसमाथिको आक्रमण राजाको शासनकालमा पनि महसुस गरिएको थिएन । तत्कालीन राजा ज्ञानेन्द्र शाहले देशको शासनसत्ता आफ्नो हातमा लिएपछि २०६२ माघ १९ पछि केही समयका लागि नेपाली पत्रकारले आतंकको सामना गर्नुपरेको थियो । तर केही समयपछि शाही सत्ता आफैं ढल्न पुग्यो ।
प्रतिक्रिया