काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आफ्नो सम्पत्ति सार्वजनिक गरेका छन् । उनले बुधबार सार्वजनिक गरेको सम्पत्ति विवरणमा करिब साढे १५ लाख कित्ता सेयर–ऋणपत्रमा लगानी गरेको उल्लेख छ ।
विभिन्न सातवटा कम्पनीहरूमा आफ्नो र श्रीमतीको नामबाट १५ लाख ३६ हजार ५८९ कित्ता सेयर (१४ करोड ५ लाख ६७ हजार रुपैयाँ) बराबर सेयर लगानी गरेको सम्पत्ति विवरणमा उल्लेख छ ।
उल्लिखित सेयरमध्ये सानिमा माई हाइड्रोपावर कम्पनीको साधारण (प्रवर्द्धकबाट साधारणमा परिणत भएको) र बाँकी सबै प्रवर्द्धक सेयर रहेको जनाइएको छ । पौडेलले स्वआर्जन र पैतृक सम्पत्तिबाट उक्त लगानी गरेको उल्लेख गरेका छन् ।
पौडेलकी श्रीमती प्रतिभा शर्माको नाममा ललितपुरको सैंबु र नवलपरासी गैंडाकोटमा एक–एकवटा घर र जग्गा रहेको छ । उनीसँग ४५ तोला सुन, १५ लाख रुपैयाँ बराबरका हिराका गहना छन् । अहिलेको मूल्यअनुसार सुनको मूल्य करिब ८७ लाख रुपैयाँ बराबर हुन आउँछ ।
पौडेलले विभिन्न बैंक तथा वित्तीय संस्थामा गरी करिब २७ लाख रुपैयाँ नगद निक्षेप राखेका छन् । ६ वटा वित्तीय संस्थामा निक्षेप खाता रहेकोमा तीनवटा आफ्नो र तीनवटा श्रीमतीको नाममा खोलिएको छ । श्रीमतीको नाममा ४४ लाख रुपैयाँ बराबरको एउटा सुजुकी गाडी रहेको पनि सम्पत्ति विवरणमा उल्लेख छ ।
प्रतिक्रिया