मधेशको बजेटमा आफ्नो पार्टीको योजना हटाएको भन्दै सिके राउत आक्रोशित


काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले मधेश प्रदेश सरकारको बजेटमा आफ्नो पार्टीका योजना हटाएर बिचौलियाको राखेको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनले आफ्नै पार्टीले सिफारिस गरेका भिजनरी योजना हटाइएकोमा आपत्ति जनाएका छन् ।

मधेशमा आफ्नै पार्टीको नेतृत्वमा सरकार रहे पनि दीर्घकालीन र भिजनरी योजनाहरू हटाइएको उनले आरोप लगाएका छन् । मधेशमा जनमत पार्टीका नेता सतिशकुमार सिंह मुख्यमन्त्री छन् । ‘संघीयताको उपलब्धि कर्णाली प्रदेश अस्पताल वा रंगशालाजस्ता ठुला पूर्वाधार हुन, तर मधेश प्रदेशमा दुर्भाग्यवश अहिले पनि ५–१० लाखका ताई–न–तुईका टुक्रे योजनाहरूले रेडबुक भरिएको छ,’ उनले भनेका छन् ।

जनताको बिचबाट बुझेर ल्याइएका योजनाहरूलाई बजेटमा समावेश नगरिएकोमा उनको दुखेसो छ । ‘जनमत पार्टीले प्रदेशको समग्र विकासलाई लक्षित गर्दै दिएको ‘रोडम्याप’ अनुसारका योजनाहरू हटाइएका छन्, नाम मात्रका ५–१० लाखका योजनाका लागि बजेट छुट्टाइएको छ,’ उनले भनेका छन् । राउतले संघीयताको औचित्यप्रति जोड दिँदै संघीय प्रणाली नभएको भए ५–१० लाखका योजना लागि पनि सिंहदरबार धाउनुपर्ने अवस्था आउँथ्यो भनेका छन्।