पूर्वराजा ज्ञानेन्द्रको क्यारिकेचर गर्दा कमेडियन प्रभात लामालाई राजावादीको धम्की


काठमाडौं । पछिल्लो समय कमेडियन प्रभात लामा पूर्वराजा ज्ञानेन्द्र शाहको क्यारिकेचर गरेर चर्चामा आएका छन् । विशाल भण्डारीले सञ्चालन गरेको ‘कमेडी नाइट विथ च्याम्पियन’को पछिल्लो अंकमा लामाले गरेको पूर्वराजा ज्ञानेन्द्रको क्यारिकेचरपछि राजावादीहरू रिसाएका छन् । लामाले यो कुरा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । उनले आफूलाई केही राजावादीले रिसाएर फोन र म्यासेज गर्ने उनले तथ्य सार्वजनिक गरेका छन् ।

‘मैले पूर्वराजा ज्ञानेन्द्रको क्यारिकेचरपछि केही साथीहरु रिसाएर म्यासेज फोन गरिराख्नु भएको छ। म हालको गणतान्त्रिक मुलुकको स्वतन्त्र नागरिकको हैसियतले महामहिम राष्ट्रपति र सम्माननीय प्रधनमन्त्रीज्यूको पनि गलत कार्यको व्यंग्य र प्रश्न उठाउने अधिकार राख्न सक्छु भने पूर्वराजाको क्यारिकेचर गर्दा गलत के भयो ? तपाईको राजा नआउँदै यस्तो रवाफ देखाउनु हुन्छ भने साँच्चै राजा आएको दिन के गर्नु हुन्छ ? मलाई मेरो काम गर्न दिनुस् तपाई तपाईको राजा ल्याउँदै गर्नुस्,’ प्रभात लामाले भनेका छन् ।

लामाले आफूलाई राजावादीहरूले जातीय विभेद गरेको पनि खुलाएका छन् । ‘रह्यो कुरा जनजातिले राजाको क्यारिकेचर गरेकोमा असन्तुष्टि । क्षमता र ल्याकत राख्नु हुन्छ भने तपाईहरु पनि गर्नुस्। कलाकारितामा आउनुस्। जातभातको कुरै नगर्नुस्। यो शोभनीय कुरा पनि होइन,’ उनले भनेका छन् ।

आफूले पूर्वराजा शाहलाई हजुरबुवाकै जस्तै मानसम्मान गरेको भन्दै आफूलाई अर्ति उपदेश नचाहिने पनि भनेका छन् । ‘व्यक्तिगत रुपमा उमेरको हिसाबले हेर्ने हो भने पनि पूर्वराजा हजुरबुवा समान हुनुहुन्छ। उहाँलाई गर्नुपर्ने सम्मान र आदर सधै उस्तै छ। मलाई राम्ररी थाहा छ, उहाँलाई कुन सम्मान दिनुपर्ने हो भनेर। त्यो तपाईहरुले सिकाइराख्न परेन। व्यक्तिगत रुपमा उहाँलाई उत्तिकै आदररभाव व्यक्त गर्न सक्छु जति उहाँ सम्मानित र आदरणीय हुनुहुन्छ। त्यसैले मलाई कुनै पनि शैलीको धाकधम्कीको भाषा प्रयोग नगरी दिनुहोला,’ लामाले भनेका छन् ।