रवि छुटाउन चन्दा उठाउँदै रास्वपा


काठमाडौं । सभापति रवि लामिछाने छुटाउन कानुनी परामर्शमा ठूलो रकम आवश्यक पर्ने भन्दै रास्वपाले चन्दा अभियान सुरु गरेको छ । रविको पक्षमा नागरिकको हस्ताक्षर अभियानसँगै चन्दा पनि संकलन गर्न थालिएको छ ।

हस्ताक्षर अभियान सञ्चालन गर्न छुट्टै खाता खोलेर स्वतस्फूर्त आर्थिक सहयोग उठाउन क्युआर कोड उपलब्ध गराइएको छ । पार्टीको मूल खाताबाट र शुभेच्छुकबाट आर्थिक सहयोग उठाएर रविविरुद्धको मुद्दा लड्नका लागि रास्वपाले ‘लिगल डिभेन्स फण्ड’ बनाएको छ । यो कोषबाट पार्टी र नेताहरुलाई आवश्यक परेका बेला कानुनी सहयोग गरिने महामन्त्री कविन्द्र बुर्लाकोटीले बताएका छन् । त्यसको कार्यविधि निर्माणको कामको जिम्मेवारी हस्ताक्षर अभियान संयोजक एवम् सहकोषाध्यक्ष दीपक बोहोरालाई दिइएको छ ।

असार ७ गते भैरहवा कारागारमा रहेका रवि लामिछानेको अपिल सचिवालयबाट जारी भयो । त्यो अपिलमार्फत् रविले सहकारी ठगीमा आफूमाथि लागेका आरोपबारे प्रष्टीकरणमात्रै दिएनन्, सरकारले राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाएको भन्दै त्यसविरुद्ध हस्ताक्षर अभियान चलाउनसमेत भने । त्यसपछि रास्वपाले हस्ताक्षर अभियानसँगै चन्दासमेत उठाइरहेको हो । हस्ताक्षर गर्ने स्थानमा चन्दा संकलनका लागि क्युआर कोड नै राखिएको छ । क्यआर कोड रास्वपाका नेता–कार्यकर्ताहरुले देशविदेशमा पठाइरहेका छन् ।

रविविरुद्धको मुद्दामा पार्टीको कोषबाटसमेत खर्च भइरहेको र आर्थिक हिसाबले पार्टीलाई भार पर्ने भएकाले पनि त्यसको लागि छुट्टै कोष बनाएर सञ्चालन गरिन लागेको बताइन्छ ।