नेपालका विभिन्न टेलिभिजनबाट प्रशारण हुँदै आएका कमेडी शोहरुमा पूर्व राजाको क्यारिकेचर खुबै बढेको छ । विशेषगरि, ‘कमेडी दरबार र कमेडी नाइट्स विथ च्याम्पियन’मा पूर्व राजाको क्यारिकेचर खुबै हुन थालेको छ । तर, यसरी क्यारिकेचर गर्दा कलाकारहरुलाई धम्की पनि आउन थालेको छ ।
‘कमेडी नाइट्स विथ च्याम्पियन’को पछिल्लो श्रृङ्खलामा पूर्व राजा ज्ञानेन्द्र शाहको भूमिकामा काम गर्दा आफूलाई धम्की आएको भन्दै कलाकार प्रभात लामाले सामाजिक संजालमा स्टाटस लेखेका छन् ।
उनले लेखेका छन्–‘म हालको गणतान्त्रीक मुलुकको स्वतन्त्र नागरिकको हैसियतले महामहिम राष्ट्रपति र सम्माननिय प्रधानमन्त्रीको पनि गलत कार्यको व्यङ्ग्य र प्रश्न उठाउने अधिकार राख्न सक्छु । पूर्व राजाको क्यारिकेचर गर्दा के गलत भयो ? तपाइको राजा नआउँदै यस्तो रवाफ देखाउनुहुन्छ भने साच्चै राजा आएको दिन के गर्नुहुन्छ ? मलाई मेरो काम गर्न दिनुहोस्, तपाइको राजा ल्याउँदै गर्नुहोस् ।’
प्रभातले जनजातीले राजाको क्यारिकेचर गरेको भन्दै असन्तुष्टि आएको भन्दै क्षमता र ल्याकत राख्ने भए गरेर देखाउन चुनौती पनि दिएका छन् । जातभातको कुरा नगर्न उनले चेतावनी दिएका छन् ।
उनले, हास्यव्यङ्ग्यमा कलाकारहरुले कसैको क्यारिकेचर गर्दैमा कसैको मान मर्दन नहुने पनि प्रभातको भनाई छ ।
उनले अगाडि लेखेका छन्–‘व्यक्तिगत रुपमा उमेरको हिसाबले हेर्ने हो भने पनि पूर्व राजा मेरो हजुरबुबा समान हुनुहुन्छ । उहाँलाई गर्नुपर्ने सम्मान र आदर उस्तै छ । मलाई राम्ररी थाहा छ कि पूर्व राजार्लाइ कुन सम्मान दिनुपर्ने हो भनेर । व्यक्तिगत रुपमा उहाँलाई उत्तिकै आदरभाव व्यक्त गर्न सक्छु जति उहाँ सम्मानित र आदरणीय हुनुहुन्छ । त्यसैले मलाई कुनै पनि शैलीको धाक धम्कीको भाषा प्रयोग नगरी दिनुहोला । कार्यक्रम केवल मनोरञ्जनका लागि मात्र तयार पारिएको हो ।’
प्रभातले कलाकारको कामलाई त्यसरी नै हेरिदिन र कमेडीलाई कमेडीकै नजरबाट वुझिदिन आग्रह गरेका छन् ।
प्रतिक्रिया