राष्ट्रिय भेलामा अपरिचित व्यक्ति छिरेपछि ओलीले दिए परिचयपत्र अनिवार्य गर्ने निर्देशन


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको राष्ट्रिय भेलामा अपरिचित व्यक्तिको प्रवेश रोक्न र सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन दिएका छन् ।

बिहीबार राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै ओलीले कार्यक्रमस्थलमा प्रवेश गर्ने व्यक्तिको पहिचान र आवतजावतमा स्वयंसेवकले विशेष ध्यान दिनुपर्ने बताए ।

आफू बसेको स्थानसम्मै अपरिचित व्यक्ति पत्र लिएर आइपुगेको प्रसंग सुनाउँदै उनले सबै नेता तथा प्रतिनिधिलाई अनिवार्य रूपमा परिचयपत्र लगाउन आग्रह गरे । परिचयपत्र लगाउन नमिल्नेले साथमा राखेर आवश्यक पर्दा देखाउनुपर्ने उनको भनाइ थियो ।

ओलीले बैठकलाई शान्त, अनुशासित र मर्यादित बनाउन तथा अनावश्यक भेटघाट र कुराकानीका लागि बैठकबाहेकको समय उपयोग गर्नसमेत निर्देशन दिए ।