काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहको उपनिर्वाचनको तयारी थालेको छ । त्यसका लागि आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका व्यक्तिहरुलाई नामावली दर्ता गराउन अनुरोध गरेको छ ।
आयोगले बुधबार राति विज्ञप्ति जारी गर्दै उपनिर्वाचन हुन लागेका स्थानका मतदातालाई नामावली अद्यावधिक गर्न भनेको छ । आयोगका सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावलीमा नाम दर्ता गराउन नपाइने भएकाले यथाशीघ्र छिटो नाम दर्ता गराउनुपर्ने बताए ।
गत शुक्रबार प्रधानमन्त्री केपी ओलीसँग निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका पदाधिकारीबीच रिक्त विभिन्न पदमा उपनिर्वाचनको मिति तोक्नेबारे छलफल भएको थियो । प्रतिनिधिसभा रुपन्देही ३ र गण्डकी प्रदेशसभा मनाङ (ख) मा रिक्त सदस्यका लागि कात्तिक दोस्रो साता निर्वाचन गर्नेबारे परामर्श भएको थियो । यस्तै, स्थानीय तहका विभिन्न १८ पदमा पनि उपनिर्वाचन हुन लागेको छ । मतदाता नामावली अद्यावधिक कार्य सकिएपछि उपनिर्वाचनको मिति तोक्ने आयोगले जनाएको छ ।
प्रतिक्रिया