काठमाडौं । सर्लाही ३ का प्रतिनिधिसभा सदस्य एवं पूर्वरक्षामन्त्री हरिप्रसाद उप्रेतीले उखु किसानलाई अनुदान दिन मागसहित प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र बुझाएका छन् । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर नेता उप्रेतीले ओलीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
नेता उप्रेतीले नेपाल उखु उत्पादक महासंघ सर्लाहीको तर्फबाट ज्ञापनपत्र बुझाएका छन् । उनी बरहथवा नगर प्रमुख कल्पना कटुवाललाई लिएर बालुवाटार पुगेका थिए । नेपालकै सबैभन्दा बढी उखु उत्पादन हुने सर्लाहीमा किसानहरूले विभिन्न समस्या भोग्दै आएकाले अनुदानको पहलका लागि आफूले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको उप्रेतीले बताए ।
सर्लाहीका किसानले उखु रोपेदेखि चिनीमिललाई बेच्दासम्म समस्यै समस्या भोग्दै आएका छन् । उखु किसानले बेलामा सिँचाइ नहुने, रासायनिक मल नपाउने, क्रसिङ गरेपछि समयमै चिनीमिलबाट भुक्तानी नपाउने समस्या छ । त्यसकै निराकरणका लागि पूर्वमन्त्री उप्रेतीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।
प्रतिक्रिया