‘हली’को ‘चानस पाएँ त’ गीत रिलिज, कलाकारहरुको गज्जबको ठुम्का



फिल्म ‘हली’ चाँडै नै दर्शकहरुमाझ रिलिजमा आउँदैछ । यो फिल्मको पहिलो प्रमोशनल गीत सार्वजनिक गर्दै यसको निर्माणपक्षले प्रमोशनको सुरुवात गरेको छ।

पूजा गुरुङ र जश्मिन श्रेष्ठको लगानीमा तयार भएको यो फिल्मको प्रमोशनल गीतको आज एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ ।

काठमाडौंमा आज आयोजना गरिएको कार्यक्रममा बाबुल गिरी र शान्ती श्री परियारको स्वर, जश्मिन श्रेष्ठको शब्द र बाबुल गिरीको संगीत रहेको गीत सार्वजनिक गरिएको हो ।

निकै नै कर्णप्रिय रहेको यो गीतको भिडियोलाई पनि आकर्षक बनाइएको छ । सुभ चिरायू फिल्मस्सँग जापुरा फिल्मस् प्रोडक्सनको व्यानरले सहकार्य गर्दै निर्माण गरिएको यो फिल्ममा ओम प्रतिकको लेखन तथा निर्देशन छ ।

सार्वजनिक प्रमोशनल गीतमा फिल्मका मुख्य नायक प्रमोद दीपसँगै कलाकारहरु दीपाश्री निरौला, किरण केसी, दीलिप रायमाझी, प्रियंका कार्की र पूजा शर्माले नृत्य गरेका छन् ।

कलाकारहरुको बलियो नृत्यले गीतको भिडियोलाई सशक्त बनाएको छ । वास्तविक जीवनका घटनाहरुबाट प्रेरित भनिएको यो फिल्ममा नम्रता भण्डारी सह–निर्माताको रुपमा छिन् ।

फिल्ममा प्रमोद दीप, सुजता थापा, ओम प्रतिक, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले र विशाल पहाडीको अभिनय छ ।

अर्जुन भुसाल कार्यकारी निर्माता रहेको फिल्ममा लक्ष्मण बज्राचार्य लाइन प्रोड्यूसर, जीवननाथ गौतम मुख्य सहायक निर्देशक, राम प्रसाद चौधरीको सम्पादन छ । फिल्मको प्रमोशनल गीतलाई भने विपिन मल्लले सम्पादन गरेका हुन् । यो गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । फिल्ममा राहुल राइको छायांकन छ ।

फिल्ममा शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्धाजको संगीत, कुमार महर्जनको एक्सन, कविराज गहतराज र ओम प्रतिकको कोरियोग्राफी छ ।

यो फिल्मकी निर्मात्री मध्येकी एक जश्मिन श्रेष्ठले दर्शकले माया गरेको खण्डमा आगामी दिनमा पनि निरन्तर फिल्म बनाउने बताइन् । उनले, फिल्म ‘हली’ले देशमा एक जना व्यक्तिका कारण पनि क्रान्ति हुन सक्छ भन्ने कथा प्रस्तुत गरेको सुनाइन् । कार्यक्रममा संगीतकार तथा गायक बाबुल गिरीले गीत गाएर सुनाएका थिए ।