‘दान्भी’ नचल्दा १० लाख पारिश्रमिक लिइनँः पूजा शर्मा



नायिका पूजा शर्माले गतबर्ष रिलिजमा आएको आफ्नो फिल्म ‘दान्भी’ नचलेपछि आफूले १० लाख रुपैयाँ छाडेको बताएकी छिन् ।

आज आयोजना भएको फिल्म ‘हली’को गीत रिलिज कार्यक्रममा बोल्दै पूजाले भनिन्–‘मैले फिल्म नचलेपछि निर्मातासँग लिनुपर्ने पैसा पनि लिएको छैन । यो कुरा त मिडियामा आउँदैन । मैले १० लाख पारिश्रमिक दान्भी नचलेपछि छाडिदिएको छु । २५ लाखमा संझौता गरेको फिल्ममा १५ लाख मात्र लिएकी थिएँ । फिल्म नचलेपछि बाँकी रकम दिनुपर्दैन भनेर निर्मातालाई भने ।’

पूजाले आज तीनै निर्माताले आफूलाई लिएर नयाँ फिल्म बनाउन लागेको पनि तर्क गरिन् । पूजाले नयाँ निर्मातालाई बचाउनुपर्ने तर्क गरिन् । पूजाले, नयाँ निर्माता आएको छ, उसलाई अहिले नै सक्दिहालौं भन्ने सोच राख्न नहुने बताइन् ।

एउटा निर्माता आएपछि बारम्बार फिल्म बनाउने माहोल बन्नुपर्ने पूजाको तर्क थियो । यसका लागि मिडियाले अझै महत्वपूर्ण भूमिका खेल्ने भन्दै पूजाले मिडियाकर्मीसँग सहयोगका लागि आग्रह गरिन् ।

आफूलाई अहिले नै मिडियामा आउने सोच नभएपनि निर्माताद्धय जश्मिन श्रेष्ठ र पूजा गुरुङका कारण आफूले ‘हली’ फिल्मको प्रमोशनल गीतमा काम गरेको पूजाको भनाई थियो ।

पूजाको यो वर्ष नै दुई वटा फिल्मको छायांकन सुरु हुँदैछ ।