काठमाडौं । चोभारस्थित गल्छी साँघुरो भएको भन्दै सरकारले फेरि डाँडा काट्ने तथा ढुंगा फुटाउने योजना ल्याएपछि विवाद सर्जना भएको छ। बाल सम्पदाविद् तथा स्थानीय तह सरकारी योजनाको विरोधमा उत्रिएका छन् । उनीहरूले चोभारस्थित गल्छीमा कालो ब्यानर टाँगेका छन् ।
सहरी विकास मन्त्रालय चोभारको गल्छीलाई चौडा नपारे त्यसमाथिको बस्ती डुबानमा पर्ने बताउँदै आएको छ। सहरी विकास मन्त्रालयका प्रवक्ता नारायणप्रसाद मैनालीका अनुसार नेपाली सेनाको सहयोगमा चोभारस्थित पाँचवटा ढुंगा कुटाएर नदीलाई खारेर गहिरो बनाउने योजना बनिसकेको छ। सहरी विकास मन्त्रालयसँगको समन्वयमा पाँचवटा ढुंगा फुटाउने तर डाँडा नकाट्ने बताइएको छ । यसको मुख्य नेतृत्व अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले गरेको छ।
समितिका इन्जिनियर उद्धव नेपालले यसबारेमा सहरी विकास मन्त्रालयसँगको समन्वयमा अध्ययन भएको र अध्ययनले निकासका लागि ढुंगा फुटाउनुपर्ने र गेयान हटाउनुपर्ने निष्कर्ष निकालेको थियो।
कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोलले चोभारको कुनै पनि ढुंगा फुटाउन तथा काट्न नदिने बताए । यातायातविज्ञ आशीष गजुरेलले गल्छीको ढुंगा काट्ने कुरा मूर्खता भएको बताउँछन् । उनले कुनै पनि हालतमा ढुंगा काट्न नदिने बताए ।
उपत्यका विभिन्न स्थान जलमग्न हु्नुमा चोभारको गल्छी साँघुरो भएकैले नभएको सम्पदाविद्हरुको भनाइ छ ।
चोभारको गल्छी ललितपुर महानगरपालिका–२६ र कीर्तिपुर नगरपालिका–६ को सिमानामा पर्ने भन्दै दुवै स्थानीय तहले केन्द्र सरकारबाट ढुंगा फुटाउन लागिएको विरोध गरेका छन् । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले पनि त्यहाँ डाँडा काट्ने वा ढुंगा फुटाउन नदिने बताए ।
प्रतिक्रिया