काठमाडौं । नेपालको अध्यागमनबाट आपराधिक पृष्ठभूमिका भारतीय नागरिक अमेरिका र क्यानडा उडेको खुलेको छ । कालोसूचीमा परेका व्यक्तिहरू नै धमाधम उड्न थालेपछि अमेरिकाले चिन्ता व्यक्त गरेको छ ।
कालोसूचीमा रहेका व्यक्तिहरूलाई समेत प्रस्थान अनुमति दिएको पाइएकाले अमेरिकी राजदूत डिन आर थम्सनले चासो व्यक्त गरेका छन् । सोमबार मुख्यसचिव एकनारायण अर्यालसँगको भेटमा अमेरिकी राजदूत थम्सनले अध्यागमनको ‘स्क्रिनिङ’ प्रणाली कमजोर भएको भन्दै सुदृढीकरणको आवश्यकता औंल्याए ।
हालै अध्यागमनबाट भिजिट भिसामार्फत सेटिङमा हजारौँ विदेश उड्नुका साथै कालोसूचीमा रहेकालाई पनि लाखौँ रकम असुलेर उडाउने गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा खुलेको थियो । स्रोतका खासगरी कालोसूचीमा रहेका भारतीय नागरिकहरू नेपालको अध्यागमनमा सेटिङ मिलाएर अमेरिका र क्यानडा गएका थिए । सोही सूचना पाएपछि अमेरिकाले अध्यागमनमा भएको सेटिङप्रति चासो व्यक्त गरेको प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले बताए ।
विगतमा पनि आतंकवादसम्बन्धी ‘कन्ट्री रिपोर्ट’मा अमेरिकाले नेपालको अध्यागमनको सुरक्षा प्रणालीप्रति प्रश्न उठाउँदै आतंकवादीले नेपालमा घुसपैठ गर्न सक्ने जोखिम औँल्याएको थियो । नेपालको अध्यागमन कमजोर हुँदा आफ्नो देशमा समेत असर गर्न सक्ने भएकाले उनीहरूले चासो व्यक्त गर्दै आएका छन् । अख्तियारले पछिल्लो समय अध्यागमनमा हुने असुलीको विस्तृत अनुसन्धान गरिरहेको छ । गत ७ जेठमा आयोगले विमानस्थल अध्यागमनका तत्कालीन प्रमुख तीर्थराज भट्टराईलाई नै नियन्त्रणमा लिई उनका मोबाइल र ल्यापटप जफत गरेको थियो । सहसचिव भट्टराई पक्राउ परेलगत्तै अमेरिकी दूतावासले उनको अमेरिकी भिसा रद्द गरेको थियो ।
प्रतिक्रिया