रामहरि खतिवडालाई कारबाही गर्न सूर्य थापाको माग


काठमाडौं । एमाले सांसद सूर्य थापाले सांसदलाई झुक्काएर कुलिङ पिरियड घुसाएको भन्दै राज्य ब्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई कारबाही गर्नुपर्ने माग उठेको छ । राज्य ब्यवस्था समितिमा रोकिएको ‘कुलिङ पिरियड’ संसदमा प्रतिवेदन लैजाँदा सभापति खतिवडाले घुसाएर पठाएको भन्दै थापाले कारबाहीको माग गरेका हुन् ।

‘समितिको प्रतिवेदनमै नरहेको ‘बाहेक’ शब्द छलछाम गरी घुसाउने को हो ? राज्य व्यवस्था तथा सुशासन समितिका सभापति र सचिवले जिम्मेवारी लिनुपर्छ, यदि यस्तो गरेको तथ्य हो भने यो अत्यन्त गैरजिम्मेवार र जवाफदेहिताबिहीन कार्य क्षमायोग्य हुन सक्दैन,’ थापाले भनेका छन् ।

कानुन निर्माणमा विधि र प्रक्रियाविपरीतको कुशासन नै हावी देखिएको उनको भनाइ छ । ‘यो सार्वभौम संसद र जननिर्वाचित सांसदहरूले छलफल र पारित गरेको कानुनमा कसले के कैफियत ग–यो ? यो गम्भीर विषय भएको छ,’ उनले भने ।

निजामती सेवा विधेयकमा कुलिङ पिरियड नराख्ने सहमति समितिमा भए पनि संसदमा पुगेको विधेयकमा भने कुलिङ पिरियड राखेर पारित भएको रहस्य खुलेपछि यतिखेर खतिवडाको आलोचना भइरहेको छ । सभामुख देवराज घिमिरेले अहिले सभापति खतिवडासहित समितिका सदस्यहरूलाई भेटेर कुराकानी गरिरहेका छन् ।