काठमाडौं । गायिका एलिना चौहान र समीक्षा अधिकारीले गृहमन्त्री रमेश लेखकलाई भेटेका छन् । मंगलबार दिउँसो सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर गायिकाद्वय चौहान र अधिकारीले आफूहरुले भोगिरहेको समस्याबारे ध्यानाकर्षण गराएका छन् ।
चौहान र अधिकारीले अहिले सामाजिक सञ्जालमा आफूहरू विरुद्ध लेखिएका स्टाटस र च्याट बक्समा लेखिएका आपत्तिजनक म्यासेज सार्वजनिक गर्न थालेका छन् । त्यसको चौतर्फी सराहना भइरहेको छ । सोमबार गायिका चौहानले भोटाहिटीस्थित साइबर ब्युरो पुगेर आफ्नो चरित्रहत्या गर्ने र अमर्यादित शब्द लेखेर गालीगलौज गर्नेलाई कारबाहीको दायरामा ल्याउन निवेदन दिएकी थिइन् । त्यसको भोलिपल्टै उनले गृहमन्त्री लेखकलाई भेटेर आफ्नो गुनासा र पीडाबारे अवगत गराएका हुन् ।
गृहमन्त्री लेखकले सामाजिक सञ्जालमा अमर्यादित गालीगलौज गर्ने र अरुको चरित्रह्रत्या गर्ने जोकोहीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । विष्णु सापकोटासँग डिभोर्स दिएपछि एलिना र पल शाहलाई थुनामा पठाएपछि उनका समर्थकले समीक्षालाई ह्यारेसमेन्ट गर्दै आएका छन् ।
प्रतिक्रिया