निजामती विधेयकमा भएको कीर्ते छानबिन गर्न समिति बनाउन गगन थापाको माग


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संघीय निजामती विधेयकमा भएको बदमासी छानबिन गर्न सभामुखले समिति बनाउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाले पारित गरिसकेको विषयमा भएको मनपरी नियोजित हो वा सामान्य त्रुटि के हो त्यो पहिले छानबिन गरेर दोषी पत्ता लगाई कारबाही गर्नुपर्ने उनको भनाइ छ ।

‘यो विषयले हामी संसदप्रति पनि प्रश्न उठ्यो । त्यसैले सभामुखको जिम्मेवारी हो यो अब । सभामुख पार्लियामेन्टको लिडर हो । सभामुख अभिभावक हो । संसदको, सिंगो संसदमाथि प्रश्न उठेको हुनाले गर्दा यसलाई अब उहाँले नछोडिकन तुरुन्तै एउटा समिति बनाएर यसको छानबिन समिति बनाउनुपर्छ । यदि मानवीय कमजोरीहरू भएको रहेछ भने भोलिका दिनमा यस्ता कमजोरी सच्याउनका निम्ति यसले हामीलाई बाटो देखाउँछ । बदनियत राखेर भएको रहेछ भने त्यसले झन् हामीलाई सिकाउँछ,’ थापाले भने ।

विधेयकमा भएका सामान्य त्रुटि सभामुख आफैंले सच्याएर पठाउन सकिने व्यवस्था संसद् विनियमावलीमा पनि छ । अझै पनि यो विधेयक राष्ट्रिय सभामा विचाराधीन रहेकाले उसले पनि सच्याएर पठाउन बाँकी नै छ । तर विधेयकमा मुख्यसचिव, सचिव र सहसचिवलाई बाहेक अरुलाई कुलिङ पिरियड राखिएपछि समितिका सभापति र सचिवमाथि नैतिक संकट आइलागेको छ ।
महामन्त्री थापाले निजामती विधेयकमा कुलिङ पिरियड रोक्न पहिल्यैदेखि चलखेल र दबाब आइरहेको पनि बताए ।

समितिबाट पारित भए अनुसारको प्रावधान नराख्न लामो समयदेखि चलखेल भइरहेको थियो । त्यो चलखेलको कुरा त समितिको बैठकले बन्द गर्दिएको हो । कुनै त्रुटिको कारणले गर्दा भएको हो कि यो बदनियत राखेको हो, सबभन्दा पहिला त्यसलाई छुट्याउनु पर्‍यो । त्यसलाई छुट्याउने एउटै मात्र विधि छ । यसमा सत्य तथ्य पत्ता लगाउँदै गर्दाखेरि संलग्न भएको जो सुकै होस् । समिति सभापति, सांसद कोही पनि संलग्न भएको देखिन्छ भने त्यो सत्य तथ्य बाहिर आउनु पर्‍यो,’ उनले भने ।