काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सरकारको एक करोड अनुदान अस्वीकार गरेको छ । मंगलबार बसेको सेजन कार्यसमिति बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आगामी आर्थिक वर्षको वार्षिक विकास कार्यक्रमको बजेट उपशीर्षक नम्बर २१ मा सेजनलाई विनियोजन गरेको एक करोड रुपैयाँ सञ्चालन अनुदान अस्वीकार गर्ने निर्णय गरेको हो ।
सेजनका अध्यक्ष सुजन ओलीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल आर्थिक पत्रकार समाजको २०८२ असार १७ गते बसेको कार्यसमिति बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२–८३ को वार्षिक विकास कार्यक्रमको बजेट उपशीर्षक नम्बर २१ मा सेजनलाई विनियोजन गरेको एक करोड रुपैयाँ सञ्चालन अनुदान अस्वीकार गर्ने निर्णय गरेको छ ।’
सेजनले सरकारले दिएको एक करोड अनुदान स्वीकार गर्न नसकिने निर्णय गर्नुमा विभिन्न चारवटा कारण खिएको छ । जसअनुसार सेजनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग यस प्रकारको कुनै पनि बजेट माग नगरेको, सेजनले हालसम्म सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट कुनै पनि निःशर्त अनुदान स्वीकार नगरेको, सेजन र यसका सदस्यहरुले बजेट अनुशासन एवम् वित्तीय स्रोत उपयोगको प्रभावकारिताबारे सरकार र यसका निकायहरुमाथि निरन्तर खबरदारी गर्दै आएकामा एक करोड रुपैयाँको निःशर्त अनुदान स्वीकार गर्नु सेजनको आफ्नै विरास्त र संस्थागत मौलिकताको समेत विपरित हुने देखिएको तथा यसै पनि वित्तीय स्रोतको अभाव झेलिरहेको हाम्रो सरकारका लागि नागरिकको आधारभूत आवश्यकता र जीवन रक्षामा ठूलो लगानी गर्नुपर्ने आवश्यकता देखिएको जनाएको छ । साथै, जनताको करबाट प्राप्त स्रोतको नागरिक हितमा अधिकतम उपयोग गर्न सक्ने विकल्प छाडेर जिम्मेवार पत्रकारहरुको छाता संस्थाले बजेट उपयोग गर्नु पेशागत धर्म र मर्यादाको समेत खिलाफ हुने देखिएको उल्लेख गरेको छ ।
प्रतिक्रिया