गगन नभएको बैठकमा मोहन बस्नेतले संगीन आरोप लगाएपछि…


काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धानले भ्रष्टाचार मुद्दा चलाएपछि कांग्रेस नेता मोहनबहादुर बस्नेत पार्टीकै महामन्त्रीविरुद्ध खनिएका छन् । कांग्रेस केन्द्रीय समितिको बुधबारको बैठकमा पूर्वमन्त्री बस्नेतले महामन्त्री गगन थापाका कारण आफूविरुद्ध अख्तियारले मुद्दा चलाएको आरोप लगाएका हुन्। उनले आफूविरुद्ध मुद्दा चल्दा पार्टीले सहयोग नगरेको भन्दै आक्रोश पनि पोखे ।

जबकि उनले बोल्ने बेला गगन बैठकमा थिएनन् । गगन तरुण दलका अनसनरत नेता कार्यकर्तासँग वार्तामा थिए । ‘महामन्त्री गगनजी तपाईं अरू नेताहरूलाई पनि समात्न लगाउनुस्, अनि तपाईंचाहिँ कहाँ जानुहुन्छ नि ?’ अख्तियारले उनलाई पनि मुद्दा लगाउन सक्ने चेतावनी दिँदै बस्नेतले आक्रोश पोखेका थिए ।

आफू स्वास्थ्यमन्त्री हुँदा एक रुपैयाँ पनि हिनामिना नगरी मन्त्रालय चलाएको उनको दाबी थियो । प्रतिशोधको राजनीतिले कोही पनि सग्लो नहुने उनको भनाइ थियो । ‘प्रतिशोधको राजनीति गरे कोही सग्लो बस्दैन । अब यहाँ बढी बोल्यो भन्नुहोला, कसै न कसैले बोल्ने आँट गर्नुपर्छ । यसरी देश चल्दैन, राजनीति चल्दैन, प्रजातन्त्र समाप्त हुन्छ,’ उनले भने । महामन्त्री थापाले भने आफ्नो अनुपस्थितिमा केन्द्रीय समिति बैठकमा धम्कीपूर्ण भाषा र अभद्र व्यवहार देखाउने प्रवृत्तिको आलोचना गरेका छन् ।

‘म तरुण दलका अनशनरत साथीहरूको माग सम्बोधन गर्न वार्तामा थिएँ । तर, बैठकभित्रै एक केन्द्रीय सदस्यले हुँकार मिश्रित धम्की दिनुभयो रे । त्यो नैतिक पतन हो,’ सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै उनले भने । टेरामाक्स अनियमितता प्रकरणमा भ्रष्टाचार मुद्दा खेपेर २५ लाख धरौटीमा छुटेका बस्नेतले आफूमाथि लगाएको आरोपले सभ्यताको सीमा नाघेको थापाले बताए । ‘बाले भन्नुहुन्थ्यो, कसैले आरोप लगाए दिइहाल्नुपर्छ जवाफ । आमाले भन्नुहुन्थ्यो, फोहोर नचलाउनु–फोहोर चलाए आफैँ फोहोरी भइन्छ । आज म आमाको कुरा सुन्छु,’ उनले भने ।