राप्रपाले राजा ल्याउने आन्दोलन नगर्ने, पार्टी संगठन र उपनिर्वाचनमा ध्यान केन्द्रित


काठमाडौं । विभिन्न पाँच बुँदे निर्णय गर्दै राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक सम्पन्न भएको छ। बिहीबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालयमा बसेको बैठकले पार्टी संगठन निर्माण र उपनिर्वाचनमा ध्यान दिनेलगायतका निर्णय गरेको छ ।

राप्रपा अध्यक्ष लिङ्देनका अनुसार बैठकले भ्रष्टाचारविरुद्धको अभियान देशव्यापी रुपमा सञ्चालन गर्ने, असोज मसान्तसम्ममा सम्पन्न गर्नुपर्ने जिल्ला अधिवेशनहरूको तयारीलाई तीव्रता दिन, आन्दोलनको थप तयारी गर्न पार्टी प्रवेश र सक्रिय सदस्यता अभियानलाई व्यवस्थित गर्न स्थानीय कमिटीहरुलाई सहयोग गर्न मुख्य नेतृत्वहरूसमेत सामेल केन्द्रीय पर्यवेक्षकहरू ७७वटै जिल्लामा खटाउने निर्णय गरेको छ ।

यस्तै, रुपन्देही ३ मा हुने उपनिर्वाचनलाई आवश्यक तयारी प्रारम्भ गर्न र सम्भावित उम्मेदवारहरूको प्रारम्भिक सूची सिफारिस गर्न जिल्ला कार्यसमितिलाई निर्देशन दिने तथा उपाध्यक्ष ध्रुव प्रधानको नेतृत्वमा नेतृत्वमा निर्वाचन परिचालन समिति निर्माणलगायतका निर्णयहरु गरेको छ। राप्रपाले भिजिट भिसा प्रकरण तथा निजामती सेवा विधेयकमा भएको चलखेलका विषयमा समेत आफ्नो धारणा स्पष्ट पारेको छ।

राप्रपाले राजसंस्था पुनःस्थापनाको आन्दोलनबारे कुनै निर्णय गरेन । यसको अर्थ अब राप्रपा राजा फर्काउने अभियान तत्कालका लागि स्थगित गरेको छ । यसअघि नै राप्रपाले वर्षायाममा आन्दोलन नहुने बताइसकेको थियो ।