रविको नाममा हस्ताक्षर गर्ने ट्राफिक प्रहरी खड्कामाथि कारबाही


काठमाडौं । सहकारी ठगी काण्डमा उच्च अदालतको आदेशले थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेलाई छुटाउन चलेको हस्ताक्षर अभियानमा सहभागी एक ट्राफिक प्रहरी कारवाहीमा परेका छन् । ट्राफिक प्रहरी कार्यालय नेपालगञ्जमा कार्यरत सई कमल खड्कालाई हेडक्वार्टरले छानविनमा तानेको हो ।

सहकारी ठगीको मुद्दामा उच्च अदालत बुटवलको आदेशले पुर्पक्षका लागि भैरहवा कारागार गएका लामिछानेलाई बाहिर निकाल्न रास्वपाले देश तथा विदेशमा हस्ताक्षर अभियानमा चलाइरहेको छ ।

सोही क्रममा रास्वपा जिल्ला समिति बाँकेले नेपालगञ्जमा गरेको कार्यक्रममा पुगेर सई खड्काले प्रहरी पोशाकमै हस्ताक्षर गरेको भिडियो सामाजिक सञ्जालमा भाइरलसमेत बनेको थियो । प्रहरीको आचारसंहिता र मर्यादाविपरित कारागारमा रहेका व्यक्तिलाई छुटाउन हस्ताक्षर गरेपछि खड्का विभागीय कारवाहीमा परेका हुन् ।