काठमाडौं । भोजपुरको रामप्रसाद गाउँपालिका–२ धोद्लेखानीमा एक व्यक्तिले ससुरालीमा चारजनाको सामूहिक हत्या गरेका छन् । हत्या गर्नेमा राजेन्द्र राई रहेको र उनी आफैं गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । उनको पेटमा २–३ ठाउँमा छुरीको चोट पाइएको छ ।
भोजपुर अस्पतालमा प्राथमिक उपचारपछि अहिले उनलाई विराटनगर रिफर गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । राईले राति सुतिरहेका बेला सासूले आफूमाथि आक्रमण गरेको र ब्युँझिँदा हातमा छुरी देखेपछि त्यही छुरी खोसेर सबैलाई मारेको प्रारम्भिक बयान दिएका छन् ।
शनिबार राति १ बजेतिर ससुरा ६८ वर्षीय बेलबहादुर गिरी, सासू ४५ वर्षीया मञ्जु गिरी, पत्नी १६ वर्षीया मनिषा गिरी र सालो नौ वर्षका सपन गिरीको हत्या गरेका राजेन्द्रलेबयान दिएका छन् । सबैको हत्या गरेपछि उनले प्रहरीलाई फोन गरेका थिए । जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्स्पेक्टर दिपक श्रेष्ठका अनुसार राजेन्द्रको मनिषासँग दोस्रो बिहे हो ।
भोजपुर नगरपालिका–२ भाम्राङका राजेन्द्रले १६ वर्षमै छोरी भगाएर लगेपछि आमा गएर फर्काएर ल्याएको बताइएको छ । एक महिनादेखि मनिषा माइतीमा थिइन् । राजेन्द्र ४–५ दिनअघि उनलाई लिन भन्दै ससुराली पुगेका थिए । तर, उमेर पनि नपुगेको भन्दै बुवाआमाले लैजान दिएनन् । राति सुतिरहेको बेला सासूले आक्रमण गरेपछि यस्तो भयानक घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रतिक्रिया