सिसन र दुर्गेशसँग काम गरेपछि गुराँस नानीको चर्चा



सामाजिक संजालमा अहिले टिकटकमा आफ्नो विभिन्न शैलीका कारण चर्चामा रहेकी गुराँस नानी छाएकी छिन् । उनी छाउनुको कारण हो, म्युजिक भिडियोमा अभिनय ।

गायक दुर्गेश थापा र भ्लगर तथा निर्देशक सिसन बानियाँको स्वरमा समावेश एक गीतको भिडियोमा काम गरेपछि उनको चर्चा बढेको हो । अर्कोतिर, दुर्गेश र सिसनले गुराँस नानीलाई भिडियोमा किन काम गराए भन्ने चर्चा पनि चलेको छ । यो गीत सार्वजनिक हुने वित्तिकै यसले चर्चा पाउने निश्चित छ ।

कुनै समय अनमोल केसी मन पर्छ भनेर चर्चामा आएकी गुराँस नानी विगत केही समयदेखि सिसन बानियाँ मनपर्छ भनेपछि चर्चामा थिइन् । यही चर्चाको बिचमा गुराँस नानीलाई नै राखेर दुर्गेश र सिसनले भिडियो निर्माण गरे । सामाजिक संजालमा यो भिडियो छायांकनदेखि नै चर्चामा छ ।

यो भिडियोमा गुराँस नानीलाई लोभलाग्दो पारिश्रमिक दिइएको छ । गायक तथा मोडल दुर्गेश थापाका अनुसार, एउटा राम्रो नायिकाले भिडियो खेल्दा पाउन पारिश्रमिक बराबर गुराँस नानीलाई पारिश्रमिक दिइएको छ ।

दुर्गेश भन्छन्–‘मानिसहरुले उनको खिल्ली पनि उडाइरहेका थिए । तर, हामीले उनलाई स्टार भनेको के हो भन्ने महशुश गराएका छौं । एउटा राम्रो पारिश्रमिक दिएका छौं । उनी, सोलुखुम्बुमा बस्छिन् । उनको जीवनमा पनि केही परिवर्तन आओस् भन्ने हाम्रो चाहना हो । यो गीत रमाइलो खालको छ । दर्शक तथा श्रोताले भोलि गीत रिलिज भएपछि मनोरञ्जन लिनुहुन्छ भन्ने हामीलाई विश्वास छ ।’

गीतको भिडियो गुराँसलाई सुहाउने खालको पनि थियो । अर्कोतिर, सामाजिक संजालमा उनको र सिसनको तस्वीर जोडेर चर्चा पनि भइरहेको थियो । यही मौकामा दुर्गेश र सिसनले उनलाई नै राखेर भिडियो बनाएका हुन् ।