काठमाडौं । अभिनेत्री रेखा थापा अहिले आफ्नै युट्युब च्यानलबाट प्रसारण हुन थालेको कार्यक्रम ‘दोस्रो अध्याय’ को प्रस्तोताको रुपमा प्रस्तुत हुन थालेकी छिन् । महिलाहरुको आमा बन्ने प्रक्रियामा आधारित रहेर उनले दोस्रो अध्याय थालेकी हुन् । सिनेमा, राजनीति हुँदै रंगमञ्चबाट एकैपटक युट्युबमा आउँदा उनी झनै उत्साहित देखिएकी छिन् ।

असार ५ गतेदेखि रेखाले दोस्रो अध्याय थालेकी हुन् । केएमसी अस्पतालका डाक्टरहरूसँग कुराकानीका आधारमा उनले भिडियो तयार पारेकी छन् । आफ्नो कार्यक्रम सफल बनाउन सहयोग गरेको भन्दै उनले केएमसी अस्पतालका सञ्चालक डा.सुनिल शर्मालाई उनले धन्यवाद दिएकी छन् ।
‘मेरो कार्यक्रमलाई सफल बनाउन सहयोग र समर्थन गर्नुभएकोमा केएमसी अस्पताल, सबै डाक्टरहरू र व्यक्तिगत रूपमा डा. सुनिल शर्माप्रति आभार व्यक्त गर्न चाहन्छु,’ उनले भनेकी छन् ।

शर्मा तिनै हुन् जोसँग रेखा २०७९ मंसिर ४ गते भएको निर्वाचनमा मोरङ ३ बाट पराजित भएकी थिइन् । ४८ हजार ६३१ मतसहित शर्मा विजयी हुँदा एमालेका भानुभक्त ढकाल २५ हजार ८९५ मत ल्याएर दोस्रो भए। राप्रपाबाट चुनाव लडेकी थापाले १० हजार ९९८ मत्रै प्राप्त गरेकी थिइन् ।
रेखा थापाको जन्मस्थान पनि मोरङ ३ कै सलकपुरमा पर्छ। आफू हुर्केको ठाउँ भएको र युवाको मत तान्न सक्ने भएकाले आफूले निर्वाचनको लागि मोरङ ३ रोजेको थापाको भनाइ थियो।
प्रतिक्रिया