‘जनै हराएको मान्छे’मा विजय, केकी र मिरुनाको सम्बन्धको कथा



भदौको ६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरु’को पोस्टर रिलिज गरिएको छ । आज निर्माणपक्षले २ वटा पोस्टर सार्वजनिक गर्दै फिल्म प्रचारलाई आक्रामक बनाउने संकेत गरेको हो । देशका विभिन्न ८ स्थानमा एकसाथ फिल्मको पोस्टर सार्वजनिक गरियो ।

सार्वजनिक दुई पोस्टरमा फिल्मका मुख्य कलाकारहरु विजय बराल, केकी अधिकारी र मिरुना मगरलाई स्थान दिइएको छ । राकेश दाहालले तयार पारेको पोस्टरले सम्बन्धको परिबन्धको कथा भन्छ ।

एउटा पोस्टरमा विजय विचमा छन् भने दुई छेउमा केकी र मिरुना छन् । यस्तै, एक पोस्टरमा केकी अधिकारीलाई मात्र स्थान दिइएको छ । केकीलाई मिरुनाकी दिदीको रुपमा फिल्ममा देख्न सकिन्छ ।

सार्वजनिक पोस्टरले कलाकारहरुको मनोभाव र दोधारे अवस्थालाई चित्रित गर्छ । हिमाल न्यौपानेको निर्देशनमा तयार भएको फिल्मका एसोसियट निर्देशक मनिष राउत हुन् । पेपरक्लिपको व्यानरमा निर्माण भएको फिल्ममा कमल न्यौपाने र विमल न्यौपानेको लगानी छ ।

फिल्मका कार्यकारी निर्माता नारायण तिमिसिना, चुडामणी सिवाकोटी, आरके मानन्धर, सीआर बस्नेत, फिलिप डीसी र जेम्स महाराजन हुन् । थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटीको संगीत रहेको यो फिल्ममा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमाटोग्राफी छ । फिल्ममा भानुभक्त ढकालको कथा, पटकथा तथा संवाद छ ।

फिल्ममा गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, आरुस भुसाल, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लगायतका कलाकारहरुको अभिनय छ ।