हुम्ला, असार २२ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज हुम्लाको खार्पुनाथ गाउँपालिका–५ स्थित चुवाखोलामा निर्माण गरिएको बेलिब्रिजको औपचारिक उद्घाटन गर्नुभएको छ। कर्णाली करिडोर निर्माण थालिएको २६ वर्षपछि हुम्लाको सदरमुकाम सिमकोट पहिलोपटक राष्ट्रिय सडक सञ्जालमा जोडिएको ऐतिहासिक दिनको रूपमा चिनिएको छ।
कर्णाली नदीमाथि बनाइएको यो बेलीब्रिजसँगै हुम्लाको सिमकोट अब देशको सडक सञ्जालमा आधिकारिक रूपमा समावेश भएको छ।

प्रधानमन्त्री ओली हुम्ला प्रस्थान गर्न आज बिहान ८ बजे काठमाडौंबाट हिँड्ने कार्यक्रम तय भए पनि प्रतिकूल मौसमका कारण करिब ५ घण्टापछि मात्र पुल उद्घाटन सम्पन्न भएको हो।
निर्माण व्यवसायीहरूको ढिलाइपछि उक्त पुल निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको थियो। सेनाले जम्मा ३५ दिनमा निर्माण सम्पन्न गरेको यस पुलमा झण्डै ४ करोड रुपैयाँ बजेट खर्च भएको जनाइएको छ।

उक्त पुल निर्माणसँगै अब हुम्लाबाट भारतीय सहर रुपैडिहा हुँदै चीनको नाका हिल्सासम्म एउटै सवारी साधनबाट आवागमन सम्भव भएको छ।

स्थानीय बासिन्दा र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सिमकोटको राष्ट्रिय सडक सञ्जालमा जोडिएको खबरलाई “दशकौंको सपना पुरा भएको ऐतिहासिक दिन”को रूपमा स्वागत गरेका छन्। उद्घाटन कार्यक्रममा सहभागी हुम्लालीहरू उत्साहित र भावुक देखिन्थे।

स्थानीय बासिन्दाका अनुसार, “अब इच्छा शक्ति भए असम्भव जस्तो देखिने काम पनि सम्भव हुने रहेछ, यो पुल त्यसको ज्वलन्त उदाहरण हो।”
प्रतिक्रिया