घट्टेकुलोस्थित काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल पुनः सञ्चालनमा


काठमाडौँ l लामो समयदेखि बन्द रहेको घट्टेकुलोस्थित काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल आज शुक्रबारदेखि पुनः सञ्चालनमा आएको छ।

अस्पतालको पुनः सञ्चालन निजी मेडिकल तथा डेन्टल कलेज संघ नेपालका पूर्व अध्यक्ष बसुरुद्धिन अन्सारीको नेतृत्वमा गरिएको हो। उनका अनुसार अस्पताल १०० शैय्याको स्वीकृतिसहित पुनः सेवा प्रारम्भ गरिएको हो।

पुनः सञ्चालनसँगै अस्पतालले केही वर्षभित्रै ३०० शैय्यामा स्तरोन्नति गर्ने तथा एमबीबीएस र एमडी कोर्ष सञ्चालन गर्ने लक्ष्य लिएको जनाएको छ।

उल्लेखनीय छ कि काठमाडौं नेशनल मेडिकल कलेजले करिब ८ वर्षअघि नै त्रिभुवन विश्वविद्यालयबाट एमबीबीएस अध्यापनको लागि सम्बन्धन पाएको थियो। तर विभिन्न कारणले गर्दा कलेजको शैक्षिक कार्यक्रम रोकिएको थियो।

नवीन योजना अनुसार अब कलेजले चिकित्सा शिक्षाका शैक्षिक कार्यक्रमहरू पुनः सुरु गर्ने र अस्पताल सेवा पनि क्रमशः विस्तार गर्ने तयारी गरेको छ।