राष्ट्रिय स्वतन्त्र पार्टी मधेस प्रदेश सभापति तपेश्वर यादवको पार्टीभित्र मनमानी कार्यकर्ताले मागे राजीनामा

15k
Shares

मधेस प्रदेश l राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेस प्रदेशको संगठनात्मक गतिविधिमा गम्भीर प्रश्न उठिरहेका छन्। प्रदेश सभापति तापेश्वर यादवले एकलौटी ढंगले पदाधिकारी नियुक्ति गरेको भन्दै सप्तरीमा विवाद चुलिएको छ।

सप्तरीमा हालै सम्पन्न कार्यक्रममा ५० जना पनि कार्यकर्ता उपस्थित नभएको दाबी गरिएको छ। त्यसबेला केन्द्रका उपसभापति स्वर्णिम वाग्ले र प्रदेश इन्चार्ज उपस्थित हुँदा पनि प्रक्रियागत पारदर्शिता नअपनाएको भन्दै आलोचना बढेको हो।

जिल्ला कार्यसमितिमा सदस्यता नपाएका व्यक्तिलाई नै उपसभापति र सचिव जस्ता जिम्मेवारी दिएको आरोप पूर्वसभापति आकांक्षी धीरेन्द्र शाहले लगाएका छन्। शाहले यसअघि पनि मधेस प्रदेशको संगठनात्मक अनियमितताबारे अनुशासन आयोगमा उजुरी दिएका थिए तर सुनुवाइ नभएको दाबी गरेका छन्।

शाहले तपेश्वर यादवलाई जातीय र व्यक्तिगत सम्बन्धका आधारमा निर्णय गरेको आरोप लगाउँदै पाँच वर्षसम्म कुनै पनि संगठनात्मक भूमिकाबाट हटाउन माग गरेका छन्। साथै, उहाँले संगठन प्रमुखको रूपमा महामन्त्री कविन्द्र बुर्लाकोटीकै प्रभावमा सबै निर्णय भएको आरोप पनि लगाएका छन्।

रास्वपाभित्र बढ्दो असन्तुष्टिले सप्तरी मात्र नभई मधेस प्रदेशको संगठनात्मक संरचना नै संकटमा पर्न सक्ने आशंका गरिएको छ। अब प्रदेश र केन्द्रिय नेतृत्वको कदमप्रति आम कार्यकर्ताको ध्यान केन्द्रीत भएको छ।