काठमाडौं । जेनजी समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई नैतिकताका आधारमा पदबाट राजीनामा दिन आग्रह गरेका छन् । मंगलबार राजीनामा माग गर्दै अख्तियार पुगेका जेनजीले भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको सम्मान गर्दै नैतिकताका आधारमा राजीनामा दिन दबाब दिएका हुन् ।
जेनजीको दबाब पत्र अख्तियारमा दर्ता भएको छ । जेनजी समूहले प्रमुख आयुक्त राईको निष्पक्षतामा प्रश्न उठाएका छन् । ‘२०८२ भदौ २३ गतेबाट जनेजीद्वारा सुरु गरिएको आन्दोलबका मुख्य मागहरु भ्रष्टाचार र दण्डहीनताको अन्त्य हुन् भन्नेबारे यहाँलाई अवगतै छ। यी मागहरु पूरा गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निष्पक्ष, स्वतन्त्र र सक्षम पदाधिकारीहरुको नियुक्ति गर्न आवश्यक छ। तपाईलगयत अरु सम्पूर्ण आयुक्तको नियुक्ति संसदीय सुनुवाइबिनै पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको सरकारले अध्यादेश जारी गरी निरंकुश ढंगले भएको छ।
यसले तपाईंको निष्पक्षतामा ठुलो प्रश्न उठाउँछ,’ दबाब पत्रमा भनिएको छ । राईले अहिलेसम्म गरेका अनुसन्धान र छानबिन पक्षपाती भएको आरोप पनि लगाइएको छ । ‘तपाईका कार्यहरु राजनीतिक रुपमा पक्षपाती छन् भन्ने आलोचना पनि प्रशस्तै छन् र तपाईको आफै नाम वाइडबडी घोटालालगायत धेरै भ्रष्टाचार मुद्दाहरुमा मुछिएको पनि छ ।
विशेष अदालतले समेत स्पष्ट रूपमा तपाई र सिंगो अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै कार्यप्रणालीमाथि प्रश्न उठाएको छ। यसले भ्रष्टाचार अन्त्य र दोषीलाई कारबाहीलगायतका सबै पक्षमा बकारात्मक प्रभाव पार्दछ भन्ने अनुमान गर्न गलत नहोला,’ दबाब पत्रमा उल्लेख छ, ‘तपाईको नेतृत्वमा यी कार्यहरु निष्पक्ष रुपले हुनसक्ला भन्नेमा कुनै विश्वसनीय आधार छैन।
यसकारण ७५ जना नेपाली नागरिकले कुशासन, भ्रष्टाचार र दण्डहीनताको अन्त्य गर्नका लागि दिएको शहादतलाई सम्मान गर्दै नैतिकताको आधारमा तपाईलगायत सम्पूर्ण आयुक्तलाई तत्काल राजीनामा दिन आह्वानका साथै यस पत्रमार्फत दबाब दिन्छौं ।’ ३९ वटा जिल्ला प्रतिनिधित्व गर्ने १२ वटा जेनजी समूहले दबाब पत्रमा हस्ताक्षर गरेका छन् ।














प्रतिक्रिया