पूर्णबहादुरले कार्यबाहक सभापति पाउने हल्लापछि कांग्रेसमा तरंग


काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने भएका छन् । पार्टी पदाधिकारीमा देउवापछि खड्का सिनियर हुन् । देउवाले असोज २६ देखि हुने केन्द्रीय कार्यसमिति बैठकपछि खड्कालाई कार्यवाहक सभापति दिने संकेत गरेको उनीनिकट केही केन्द्रीय सदस्यहरूले बताएका छन् । कांग्रेसको वर्तमान पदाधिकारीमा खड्का र अर्का उपसभापति धनराज गुरुङबाहेक अधिकांश युवा नेता छन् ।

प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, शेखर कोइराला, शशांक कोइराला सबै केन्द्रीय सदस्य हुन् । कांग्रेसमा खड्काभन्दा अरु नेता सिनियर भए पनि देउवाले उनैलाई कार्यवाहक जिम्मेवारी दिने बताइन्छ । खड्कालाई नेता सिटौलाले समर्थन गरेका छन् । पछिल्लो समय खड्का र सिटौला एउटै समूहमा छन् ।

बिहीबार बिहान खड्का सिटौला निवास पुगेका थिए । जहाँ आठ–नौजना केन्द्रीय सदस्य थिए । कांग्रेसको पदाधिकारी एवं पूर्व पदाधिकारीको बैठक बस्नुअघि खड्का सिटौला निवास पुगेका हुन् । यसअघि कांग्रेसमा गिरिजाप्रसाद कोइरालाले सुशील कोइरालालाई कार्यबाहक सभापति दिएका थिए । सुशीलले लामो समयसम्म कार्यवाहकको जिम्मेवारी बहन गरे । त्यसअघि कृष्णप्रसाद भट्टराईले कार्यबाहक सभापतिको रूपमा कांग्रेस चलाएका थिए ।

भट्टराई कांग्रेसको २० वर्षसम्म नेतृत्व चलाउने नेतामा पर्छन् । यसपटक देउवाले शेखर कोइरालालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिनेबारे नेताहरुसँग परामर्श गरेका थिए । तर शेखर तयार भएनन् । शेखरले महाधिवेशनबाटै आफू सभापति जितेर आउने भन्दै पन्छिएपछि देउवाले खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिन लागेको स्रोतले बतायो ।

खड्काले कार्यबाहक सभापति पाउने भएपछि प्रकाशमान, गोपालमान, विमलेन्द्र, शशांकलगायतका नेता असन्तुष्ट बनेका छन् । कांग्रेसमा पूर्णबहादुरलाई कार्यबाहक दिएर गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गरेर चुनावमा जानुपर्ने आवाज पनि उठेको छ ।