जेनजी आन्दोलनपछि पहिलो विदेश भ्रमणमा राष्ट्रपति पौडेल, आज कतार उडे


काठमाडौं । जेनजी आन्दोलनपछि पहिलोपटक राष्ट्रपति रामचन्द्र पौडेल विदेश भ्रमणमा निस्केका छन् । उनी सोमबार कतारको राजधानी दोहा प्रस्थान गरेका छन् । मंगलबारदेखि कात्तिक २० गतेसम्म आयोजना हुन लागेको सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल त्यसतर्फ प्रस्थान गरेका हुन् ।

राष्ट्रपति पौडेल आगामी बिहीबार स्वदेश फर्कने कार्यतालिका छ । कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पौडेल दोहा प्रस्थान गरेका हुन् । राष्ट्रपति पौडेलले भोलि सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

सम्मेलन संयुक्त राष्ट्रसंघ, महासभाको निर्णयअनुसार ३० वर्षपछि हुन लागेको हो । दोहामा राष्ट्रपति पौडेलसँग कतारका अमिर र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलगायतले भेटवार्ता गर्ने बताइएको छ । यसअघि यस्तो सम्मेलन सन् १९९५ मा डेनमार्कको कोपनहेगनमा भएको थियो ।

यसपटकको सम्मेलनमा वर्तमान विश्वले सामना गर्नुपरेका विकास असमानता, जनसङ्ख्यामा आएको असन्तुलन र प्रविधिका कारण समाजमा परेको प्रभावलगायत विषयमा छलफल गरिँदैछ । यसअघि भदौमा राष्ट्रपति पौडेललाई चीनको भ्रमणको निम्तो आएको थियो । तर उनले भ्रमणमा जाने इच्छा राखेका थिएनन् ।