काठमाडौं । मेडिकल व्यवसायी दुर्गां प्रसाईप्रति भारतमा असन्तुष्टि बढेको छ । उपचारको बहानामा नयाँ दिल्ली पुगेका प्रसाईले बारम्बार भारतीय समर्थनको हवाला दिँदै आफ्नो स्वार्थको रोटी सेक्न खोजेपछि असन्तुष्टि बढेको हो । दिल्लीस्थित सरकारी अधिकारीहरूले प्रसाईंको पछिल्लो भारत भ्रमण स्वास्थ्य उपचारसँग सम्बन्धित भएको स्पष्ट पारेका छन् ।
उनीहरुले भारतको नेपाल नीति लोकतान्त्रिक संस्थाहरूसँगको सहकार्य र आन्तरिक मामिलामा असंलग्नतामाथि आधारित रहेको बताए । ‘प्रसाईंसँग हाम्रो प्रत्यक्ष वा परोक्ष सम्बन्ध छैन, उनी पूर्ण रूपमा नेपालकै आन्तरिक राजनीतिक पात्र हुन्,’ नेपाल मामिला हेर्ने एक वरिष्ठ अधिकारीको भनाइ उद्धृत गर्दै एनडिटिभीले जनाएको छ ।
भारतीय टेलिभिजन एनडिटिभीले उद्धृत गरेका भारतीय अधिकारीका अनुसार, ‘प्रसाईंलाई भारतमा कुनै राजनीतिक गतिविधि नगर्न र भारतीय समर्थनको भ्रामक दावी नगर्न चेतावनी दिइएको छ ।’ उपचारका नाममा पछिल्ला केही साता दुईपटकसम्म दिल्ली पुगेका उनले आफ्नो भ्रमणलाई ‘भारतीय नेताहरूसँगको भेटघाट र राजतन्त्र पुनःस्थापनाका लागि समर्थन लिन गरिएको पहल’ का रूपमा प्रचार गर्दै आएका छन् ।
प्रसाईले यसअघि पनि भारतीय नेताहरूसँग पटकपटक भेट्न खोजेका थिए । तर कसैसँग भेट्न पाएनन् । राजतन्त्र र हिन्दुराष्ट्र स्थापनाको नाममा देशभर अभियान चलाउँदै आएका विवादास्पद प्रसाईले आगामी मंसिर पहिलो साता ठूलो विरोध प्रदर्शन हुने बताउँदै आएका छन् । त्यसपछि देशभर सडक अवरोध र आन्दोलन चर्काउने उनको योजना छ ।
उनका पछिल्ला प्रदर्शनहरू हिंसात्मक घटना र आगजनीका प्रसंगहरूसँग जोडिएका छन्। गत चैत १५ गते हिंसात्मक प्रदर्शनपछि भागेर भारत पुगेका बेला भारतीय सुरक्षाले पक्राउ गरी नेपालमै बुझाएको समाचारमा उल्लेख छ । जेनजी प्रदर्शनमा पनि भदौ २४ गते प्रसाई समूहले व्यापक घुसपैठ गरेर आगजनी गरेको सुरक्षा संयन्त्रले निष्कर्ष निकालेको छ ।














प्रतिक्रिया