भोलि अरुसँग एकता गर्दै गरेको माओवादी आजै दुई फ्याक


काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी चोइटिएको छ । बुधबार एकीकृत समाजवादीलगायत दल र समूहसँग एकता गर्दै गरेको माओवादी मंगलबार नै चिरा परेको हो । माओवादी नेता जनार्दन शर्मा र राम कार्कीले पार्टीको कुनै भूमिकामा नरहेको घोषणा गरेका छन् ।

मंगलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा शर्मा र कार्कीले माओवादी त्यागेको बताएका हुन् । माओवादी सचिवसमेत रहेका नेता कार्कीले आफूहरूले माओवादीको दर्ज्यानी चिन्ह मिल्काएर आएको बताए। ‘उहाँ (जनार्दन शर्मा) को दर्ज्यानी चिह्न उपमहासचिव हो, मेरो सचिव हो, उहाँको स्थायी समिति सदस्य हो, हामी त्यो दर्ज्यानी चिह्न मिल्क्याएर आएका छौं, यसरी नै समाजवाद प्रति प्रतिबद्ध, यो नयाँ युवापुस्ताप्रति विश्वास गर्ने सबैलाई हामी के भन्छौं भने यस्ता दर्ज्यानी चिह्नहरू, पूर्वाग्रहहरू, मेरै पार्टी ठूलो, मेरै पार्टी राम्रो भन्ने सारा आग्रहहरूलाई त्यागेर एउटा एकीकृत समाजवादी अभियान सुरु गर्न जुट्न हामी सबैलाई आग्रह गर्दछौं,’ उनले भने।

पार्टीभित्र लामो संघर्ष गर्दासमेत नेताहरूले विस्थापन गर्न नसकेको भन्दै उनले नयाँ अभियानको थालनी गर्न लागेको बताए। विभिन्न समूहमा रहेका वा नरहेका सबै देशभक्त, जनवादी सोच राख्ने, समाजवादलाई लक्ष्य राख्ने समाजवादलाई लक्ष्य ठान्ने सबैजना आफ्नो नेताहरूले दिएको पदीय भूमिका छाडेर आउन उनले आह्वान पनि गरे। नेता शर्माले आफूहरू अध्यक्ष र उपाध्यक्ष बन्न माओवादी नत्यागेको बताएका छन् । भ्रष्टाचारमा डामिएका माधव नेपाल र प्रचण्ड दुवैलाई जनताले तिरस्कार गरिसकेकाले उनीहरूसँग बस्न नसक्ने अवस्था आएको कार्की र शर्माको भनाइ छ ।