काठमाडौं । एकीकृत समाजवादी नेतृ रामकुमारी झाँक्री एमाले प्रवेशको तयारीमा छिन् । त्यसका लागि अहिले उनले पत्रकार सम्मेलन आयोजना गरेकी छन् । माओवादीसहितका वाम घटकसँगको एकता प्रक्रियामा सहभागी नहुने घोषणा गरेकी झाँक्रीसहितका नेताको समूहले पत्रकार सम्मेलन गरेर एमाले प्रवेशको घोषणा गर्न लागेका छन् ।
झाँक्रीसहितको समूहले बुधबार बिहान १० बजे काठमाडौंको बसेरा होटलमा पत्रकार सम्मेलन आयोजना गरेको छ । पत्रकार सम्मेलनबारे जानकारी दिँदै झाँक्रीले भनेकी छन्, ‘हाम्रो विचार सुन्न र बहसमा सहभागी हुनका लागि आदरणीय पत्रकार साथीहरू तथा सम्पूर्ण परिवर्तनकामी क्रान्तिकारी साथीहरूलाई उपस्थित हुन हार्दिक अनुरोध गर्दछौं।’ नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्दै राष्ट्रियता, प्रजातन्त्र, सामाजिक न्याय, विकास र समृद्धिको दिशामा अघि बढ्न, सैद्धान्तिक र वैचारिक दृष्टिकोण मिल्ने राजनीतिक शक्तिहरू एक ठाउँमा आउन आवश्यक छ भन्ने कुरा बोध गरी विचार विमर्श गर्न लागिएको उनको भनाइ छ।
आजै माओवादी, एकीकृत समाजवादीसहित नौवटा पार्टी–समुह मिलेर ‘नेपाली कम्युनिस्ट पार्टी’ घोषणा गर्दैछन्। त्यसअघि असन्तुष्ट नेताले पत्रकार सम्मेलन गर्न लागेका हुन्। एकीकृत समाजवादीका नेतामध्ये झाँक्रीसँगै किसन श्रेष्ठलगायत नेता एमाले प्रवेश गर्ने तयारी गरेका छन्। झाँक्रीसहितका नेता कार्यकर्ता एमाले आउन लागेपछि सचिव योगेश भट्टराई खुसी देखिएका छन् । उनले बुधबार बिहान सामाजिक सञ्जालमा लेख्दै अब देश बनाउनुपर्ने उल्लेख गरेका छन् ।
आफूहरू स्वागत गर्न आतुर रहेको बताएका छन् । ‘अमुक नेतालाई जिताउनै पर्ने पूर्व शर्त स्वीकार गर्ने या नगर्ने यो यहाँहरूकै विवेकको विषय हो। तर एमालेमा समाहित हुनु कुनै शर्तभन्दा पनि माथिको महत्त्वको सवाल हो। एमालेमा तपाईंहरूको सहभागिताबाट कुन नेतालाई फाइदा हुन्छ या हुन्न रु कुन नेताले जित्छ या हार्छ ? यो गौण हो’, योगेशले फेसबुकमा लेखेका छन्, ‘हामी चाहन्छौ हाम्रो सहकार्यले नेपाल राष्ट्रले जित्नु पर्छ, नेपाली जानताले जित्नु पर्छ र नेकपा एमालेले जित्नु पर्छ। त्यसका खातिर हामी हजार पटक हार्न तयार छौँ।स्वागत छ कमरेडहरू।’














प्रतिक्रिया