एकीकृत समाजवादी विघटन भयो, हाम्रो अध्याय टुगियो : रामकुमारी झाँक्री


काठमाडौं । एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले पार्टी विघटन भएको र आफ्नो अध्याय टुंगिएको बताएकी छन् । बुधबार काठमाडौँ विशेष पत्रकार सम्मेलनमा उनले आफ्नो यात्रा टुंगिएको घोषणा गरेकी हुन् । ‘प्रारम्भका दिनमा भयानकै अभियान चल्छ होला भन्ने विश्वासले लागेका थियौं ।

त्यो अभियान समाप्त भएको छ । हाम्रो अध्याय टुंगिएको छ । पार्टी विघटन भएको छ,’ उनले भनिन् । नेत्री झाँक्रीले माधवकुमार नेपाललाई निर्वाचन आयोगमा डोहोर्‍याएको दृष्यकोसमेत सम्झना गरेकी छन् । यो दृश्यलाई लाई लिएर आफूमाथि प्रश्न उठेको भन्दै उनले त्यो एउटा बिम्ब मात्र भएको प्रष्ट पारिन् । ‘फोटोलाई लिएर मलाई पार्टी विभाजनका लागि मुख्य जिम्मेवार बनाइयो । त्यो एउटा बिम्ब मात्र थियो’, उनले भनिन् ।

नेतृ झाँक्रीले जेनजी आन्दोलनमा लाखौँ सदस्य भएका पार्टीका कार्यकर्ताले पार्टी कार्यालय किन बचाएनन् भन्दै प्रश्न गरिन् । जेनजी विद्रोहले लोकतान्त्रिक प्रणालीमाथि नै प्रश्न उठाएको भन्दै उनले दलहरूका पार्टी कार्यालयसमेत बचाउन नसक्नु गम्भीर विषय रहेको बताइन्। झाँक्रीले आठ दलको एकता पनि सही नरहेको बताइन्।

यो एकता नेताहरू होत लाग्ने आसयका साथ मात्र भएको भन्दै यसले वामपन्थी आन्दोलन नै कमजोर हुने उनको दाबी छ । यसरी नेताहरूले लोकतान्त्रिक पार्टीलाई कमजोर बनाएको भन्दै अब पार्टीहरू व्यापक परिमार्जन गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ। एकीकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठ किसानले आफूहरू मूलघर फर्कन लागेको बताए ।

उनले एमालेमा फर्कन लागेको संकेत गरेका हुन्। एमालेबाट अलगिएर उनी माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा गएका थिए। आफूहरू मूलघर फर्कन लागेको र हाँसेर बोलिदिए पुग्ने श्रेष्ठको भनाइ छ।