जनार्दन शर्माले साथ छाडेपछि प्रचण्डले रुकुमका नेतालाई घरमै बोलाएर गरे भेटघाट


काठमाडौं । माओवादी उपमहासचिव जनार्दन शर्मा एकता प्रक्रियामा नआएपछि संयोजक पुष्पकमल दाहाल प्रचण्ड निकै भयभित देखिएका छन् । शर्माको लुम्बिनी प्रदेशमा जबर्जस्त प्रभाव छ । त्यसमा पनि पश्चिम र पूर्वी रुकुममा शर्मा निर्विकल्प नेता मानिन्छन् । माओवादी संसदीय प्रक्रियामा आएपछिका चारवटा निर्वाचनमा एउटै निर्वाचन क्षेत्रमा लगातार चुनाव जित्ने नेतामा शर्मा मात्र हुन् । माओवादीमा शर्माबाहेक कुनै पनि एउटा नेता छैनन्, जो चारपटक एउटै निर्वाचन क्षेत्रबाट चुनाव जितेको होस् ।

प्रचण्डले आज एकीकृत समाजवादीसहित विभिन्न नौ दल–समूहसँग एकता गर्दैछन् । तर पार्टीकै सचिव राम कार्की, उपमहासचिव जनार्दन शर्मा, नेता सुदन किराँतीलाई प्रचण्डले सँगै लिएर जान सकेनन् । शर्माले प्रगतिशील अभियान घोषणा गरिसकेका छन् । जसमा निकट भविष्यमै घनश्याम भुसाल, नेत्रविक्रम चन्द विप्लवलगायत समेटिने चर्चा छ ।

शर्माले नयाँ पार्टी बनाउँदा रुकुम, सल्यानलगायतका जिल्लामा माओवादीको भोट काटिने आशंका प्रचण्ड पुगेका छन् । हुन त जनार्दन शर्माका भाइ राजकुमार शर्मा, उनकी बहिनी अहिले पनि माओवादीमै छन् । तर शर्माले पार्टी गठन गरिसकेपछि उनीहरू पनि उतै लाग्ने सम्भावना धेरै रहेको बताइन्छ । जनार्दनको बहिर्गमनसँगै प्रचण्डले पूर्वी र पश्चिम रुकुमका नेताहरू आफ्नो निवासमा बोलाएर छलफल गरेका छन् ।

बुधबार बिहान प्रचण्ड निवासमा रुकुमका माओवादी नेताहरूको बाक्लो भीड थियो । उनीहरूले जनार्दन शर्माले पार्टी छाड्दैमा धेरै फरक नपर्ने व्रिफिङ गरेको बुझिएको छ । ‘रूकुम जिल्लाका कमरेडहरूले संयोजक कमरेड प्रचण्डसँग भेटेर रूकुम जिल्लाको क्रान्तिकारी विरासत जोगाउन दृढतापूर्वक अगाडि बढ्ने बताउनुभएको छ,’ प्रचण्ड निकट पत्रकार मनोहरि तिमिल्सिनाले भने ।