रास्वपा संसदीय दलको बैठक भोलि, यस्ता छन् एजेन्डा


काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको रास्वपाले संसदीय दलको बैठक बोलाएको छ । दलको बैठक बिहीबार रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो सवा १२ बजे बस्ने भएको छ । रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार प्रतिनिधिसभाका संसदीय समितिका सभापतिहरूको निर्वाचनका सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको हो ।

प्रतिनिधिसभामा १२ संसदीय समितिका सभापतिहरूको निर्वाचन हुँदैछ । त्यस विषयमा छलफल गर्न बैठक बोलाइएको हो । प्रतिनिधिसभामा रास्वपाको एक्लै एक सय ८२ सांसद छन् । बहुमतका आधारमा सबै समितिका सभापति रास्वपाकै हुने निश्चित छ । तर संसद् बैठक निर्वाध रूपमा सञ्चालन गर्न संसदमा रहेका अन्य दललाई पनि सभापति दिने विगतको परम्परा थियो । यसपटक रास्वपा कसरी अघि बढ्छ भन्ने निश्चित छैन ।

अन्य सबै विषयगत समिति सभापति रास्वपाले लगे पनि सार्वजनिक लेखा समितिको सभापति भने प्रमुख प्रतिपक्षीलाई दिने चलन छ । यसपटक प्रतिनिधिसभामा कांग्रेस प्रमुख प्रतिपक्षी दल छ । तर रास्वपाले कांग्रेसलाई भन्दा श्रम संस्कृति र राप्रपालाई निकटता राखेकाले सार्वजनिक लेखा समिति सभापति यिनै दुई दलमध्ये एकले पाउने बताइन्छ ।

स्रोतका अनुसार प्रतिनिधिसभाको उपसभामुखको क्षतिपूर्ति रास्वपाले लेखा समिति राप्रपालाई दिएर पूरा गर्नेछ । रास्वपा सभापति रवि लामिछानेले उपसभामुखको निर्वाचनकै दिन यसको संकेत गरिसकेका छन् ।