सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन


काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पदभार सम्हालेपछि पहिलोपटक बिहीबार सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्रीको मिडिया संयोजक दीपा दाहालका अनुसार दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्ने बैठकलाई केन्द्र–प्रदेश समन्वयलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ।

छलफलमा विकास निर्माणका कार्यलाई तीव्रता दिने, स्रोत–साधनको समुचित बाँडफाँड सुनिश्चित गर्ने तथा प्रदेशहरूले भोगिरहेका विभिन्न प्रशासनिक र आर्थिक समस्याहरू समाधान गर्ने विषयमा केन्द्रित रहने जनाइएको छ । साथै, राष्ट्रिय प्राथमिकताका योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न केन्द्र र प्रदेशबीच सहकार्य कसरी अझ सुदृढ बनाउने भन्ने विषय पनि छलफलको मुख्य एजेन्डा रहनेछ।

प्रधानमन्त्री कार्यालयका अनुसार देशको वर्तमान आर्थिक अवस्था, पूर्वाधार विकास, सेवा प्रवाहमा सुधार तथा सुशासन कायम गर्ने विषयमा साझा समझदारी निर्माण गर्ने प्रयाससमेत बैठकमा हुने छ। बैठकलाई संघीयता कार्यान्वयनलाई थप प्रभावकारी बनाउने र जनतामा प्रत्यक्ष लाभ पुर्‍याउने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। प्रधानमन्त्री बालेनले बुधबार सबै दलका समानुपातिक सांसदसँग पाँच घन्टा सिंहदरबारमा छलफल गरेका थिए । यसअघि उनले प्रदेशगत रूपमा प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका थिए ।