काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकताको विषयमा सर्वोच्च अदालतमा परेको रिट निवेदनको सुनुवाइका लागि बिहीबार पेसी तोकिएको छ । गगन थापा पक्षलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्चमा दायर गरेको मुद्दा सुनुवाइका लागि आज पेसी तोकिएको छ ।
सर्वोच्चका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । यसअघि सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । २०८२ माघ ६ मा न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै निर्वाचन आयोगसहितको नाममा लिखित जवाफ पेस गर्न आदेश जारी गरेको थियो ।
निर्वाचन आयोगमा सभापति गगन थापाले लिखित जवाफ पेस गरेसँगै सुनुवाइका लागि पेसी तोकिएको थियो । गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशन आह्वान गरेर नयाँ कार्यसमिति चयन गरेपछि कांग्रेसमा आधिकारिकताको विवाद भएको थियो । तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अदालतमा रिट दर्ता गराएका थिए ।
रिट निवेदनमा कांग्रेस नेता देउवा र पूर्णबहादुर खड्काको वारेसले श्रवणकुमार श्रेष्ठले दायर गरेको रिट निवेदनमा निर्वाचन आयोगको निर्णय बदर र नयाँ निर्वाचित कार्यसमिति अवैधानिक भएको भन्दै भंग गर्न माग गरिएको छ । अदालतमा मुद्दा विचाराधीन भएकैले कांग्रेसको गतिविधि र सांगठनिक कार्य प्रभावित हुँदै आएको छ । अहिलेको अवस्थामा कांग्रेस विभाजनको डिलमा पुगेको विश्लेषण हुन थालेको छ ।












प्रतिक्रिया