एमाले र नेकपाबीच एकताको चर्चा, ओलीलाई भेट्न अस्पताल पुगे प्रचण्ड


काठमाडौं । एमाले र नेकपाको सहकार्य चर्चा चल्न थालेको छ । निर्वाचनमा अप्रत्यासित हारको सामना गर्नुपरेपछि दुवै दलबीच फेरि एकताको चर्चा चलेको हो । केही दिनयता एमाले र नेकपाका नेताहरू एकता वार्ता चलिरहेको छ । तर बाहिर भने त्यस्तो केही नभएको समाचार ल्याइएको छ ।

अबको पाँच वर्षसम्म रास्वपाको एकमना सरकार निर्वाध ढंगले चल्ने देखिएपछि एमाले र नेकपा मिलेर कम्युनिस्ट मत बचाउने प्रयत्न हुन थालेको हो । एमाले र नेकपाबीच एकताको प्रयास हुनुमा शीर्ष नेताको राजनीतिक करियर जोगाउन रहेको बताइन्छ । यसैक्रममा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी ओलीलाई भेट्न अस्पताल पुगेका छन् ।

पत्थरीको अपरेसनपछि टिचिङ अस्पतालमा उपचाररत ओलीलाई प्रचण्डले बिहीबार साँझ सवा ५ बजे भेटेका थिए । दुवैबीच ३० मिनेट कुराकानी भएको बताइएको छ । प्रचण्डले ओलीलाई स्वास्थ्यलाभको कामना गरेका थिए । तर ओली र प्रचण्डबीचको भेटवार्ताबारे बाहिर ल्याइएन । दुवैबीच कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको बताइन्छ ।

एमालेसँग एकता गर्न पाए प्रतिनिधिसभामा विपक्षी दलको नेता आफू नै बन्ने प्रचण्डको दाउ छ । त्यही भएर प्रचण्डले यो पाँच वर्ष प्रतिनिधिसभामा विपक्षी दलको नेता भएर आफ्नो राजनीतिक साख जोगाउन चाहन्छन् । एमालेका शीर्ष नेता सबै पराजित छन् । एमाले २५ र नेकपा १७ सिट जोड्दा ४२ सिट हुन्छ । नेपाली कांग्रेससँग ३८ सिट मात्र छ । त्यही भएर अहिले प्रचण्ड एमालेसँग एकताको अभियानमा जुटेको नेताहरुको भनाइ छ ।