सरकारको मिडिया ट्रायल आफैंलाई घाँडो हुँदै, सञ्चारमन्त्रीले दिए स्पष्टीकरण


काठमाडौं । सरकारले आफूले गर्न लागेको निर्णय पहिल्यै सामाजिक सञ्जाल र मिडियामार्फत ल्याउने प्रचलन उसकै लागि घाँडो भएको छ । वालेन्द्र शाह बालेन नेतृत्वमा सरकार गठन भएपछि सरकारले पहिले मिडिया ट्रायल गर्ने, यदि विवाद नआउने भएमा औपचारिक निर्णय गर्ने परम्परा बसाएको थियो । तर यस्तो कदम उसकै लागि घातक सिद्ध हुँदैछ ।

यसैक्रममा पछिल्लो उदाहरण बनेको छ प्रत्येक मन्त्रीलाई नयाँ आइफोनसहित सिम उपलब्ध गराउने निर्णय । सरकारले यस्तो निर्णय गरेको भन्दै समाचार बाहिरिएपछि धेरैले प्रधानमन्त्रीको आलोचना गरिरहेका छन् । दुई दिनको मिडिया ट्रायल भएपछि शनिबार प्रधानमन्त्री बालेनका राजनीतिक सल्लाहकार असिम शाहले भ्रामक र कपोकल्पित भन्दै खण्डन गरे ।

आइतबार सञ्चारमन्त्री डा. बिक्रम तिमिल्सिनाले पछिल्लो समय सरकारले प्रत्येक मन्त्रीलाई नयाँ मोबाइल फोन उपलब्ध गराउने तयारी गरिरहेको भनी फैलिएको विषय पूर्ण रूपमा भ्रामक र कपोलकल्पित रहेको बताएका छन् । नुवाकोटको लिखु गाउँपालिका–६ स्थित छहरे बजारमा आइतबार स्थानीयसँगको भेटघाटका क्रममा मन्त्री तिमिल्सिनाले पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट फैलिएको उक्त सूचना सत्य नभएको जनाउँदै यस्ता भ्रमपूर्ण सामग्रीले सरकारप्रति अनावश्यक अविश्वास सिर्जना गर्ने प्रयास भएको उल्लेख गरे । उनले यस्तो सूचना गलत नियतका साथ फैलाइएको हुनसक्ने आशंकासमेत व्यक्त गरे ।

‘पुष्टि नभएका सूचना विश्वास गर्नु र फैलाउनुपूर्व त्यसको आधिकारिकता खोज्नु हामी हरेक सचेत नागरिकको जिम्मेवारी पनि हो,’ उनले भने । तिमिल्सिनाले वर्तमान सरकार नागरिकको करबाट संकलित स्रोतसाधनको सदुपयोग गर्न प्रतिबद्ध रहेको स्पष्ट पार्दै जनताको पैसाको कहीँकतै दुरुपयोग भएको देखिएमा नागरिकले खबरदारी गर्नुपर्नेसमेत बताए ।