काठमाडौं । सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएसँगै कांग्रेसमा देखिएको किचलो केही मत्थर भएको छ । अब कसले कांग्रेसको आधिकारिकता पाउने भन्ने अन्योल हटेको छ । अब पार्टीलाई एकताबद्ध बनाएर लैजाने मुख्य जिम्मेवारी सभापति थापाको काँधमा आएको छ ।
सर्वोच्चको फैसलापछि निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले कानुनी लडाइँको अध्याय समाप्त गर्दै अदालतको निर्णय स्वीकार्ने निर्णय गरेको छ । शनिबार बसेको पूर्वसभापति देउवा पक्षका नेताहरूको बैठकपछि नेता मीनबहादुर विश्वकर्माले अदालतको फैसला शिरोधार्य गर्ने निर्णय भएको जानकारी दिए । ‘फैसलामा हाम्रा केही असहमति र असन्तुष्टिहरू अवश्य छन्, तर स्वतन्त्र न्यायपालिकाको निर्णयलाई सम्मान गर्ने हाम्रो परम्पराअनुसार यसपटक पनि फैसला स्वीकार्ने निष्कर्षमा पुगेका छौँ ।’
सर्वोच्चको फैसलासँगै कानुनी र वैधानिकताको विवाद टुंगिए पनि अब राजनीतिक चुनौतीहरू बाँकी रहेको नेता विश्वकर्माको भनाइ छ । उनले पार्टीभित्रको आन्तरिक एकतालाई बचाउने बल अब सभापति थापाको कोर्टमा रहेको बताए ।
पार्टीको आन्तरिक कलह व्यवस्थापन गर्दै सबै पक्षलाई भावनात्मक रूपमा जोड्ने कार्यमा थापाको भूमिका निर्णायक हुने छ । विशेष महाधिवेशनबाट सभापति चुनिएका थापाले पार्टीका सबै नेता–कार्यकर्तालाई एक स्वर बनाएर अघि बढाउने वातावरण कसरी सिर्जना गर्छन्, अब त्यसैमा कांग्रेसको भविष्य निर्भर रहनेछ । पार्टी एकता जोगाउनकै लागि मुद्दा विचाराधीन रहेकै अवस्थामा पनि देउवा पक्षले थापा नेतृत्वको समितिको टिकटमा चुनाव लडेको स्मरण गर्दै नेता विश्वकर्माले अब थापाले पनि सोही उदारता र समन्वयकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
सभापति थापाले अदालतको फैसला कसैको जित र हारभन्दा पनि प्रणालीको पक्षमा आदेश भएको बताउँदै अब मिलेर जाने बताइसकेका छन् । उनले पार्टीलाई एकताबद्ध बनाएर लैजान आफूले भूमिका खेल्ने उनको भनाइ छ । देउवा समूहका अधिकांश नेता मिलेर जानुपर्ने पक्षमा भएकाले तत्काल पार्टी विभाजन नहुने निश्चित छ । तर केही डेट एक्सपायर भएका नेता भने अब कांग्रेसबाट अलग हुने सम्भावना भने धेरै छ ।












प्रतिक्रिया