नेपालले अमेरिकालाई युरेनियम भण्डारण हस्तान्तरण गर्न लागेको भन्दै भारतीय मिडियामा सनसनी


काठमाडौं । नेपालले अमेरिकालाई युरेनियम भण्डारण हस्तान्तरण गर्न लागेको भन्दै भारतीय मिडियाले समाचार भाइरल बनाएका छन् । अमेरिकी विदेशमन्त्री समीर पल कपूरको नेपालको आकस्मिक भ्रमणसँगै यस्तो अड्कलबाजी तीव्र भएको हो।
नवभारत टाइम्सले नेपाल सरकारले हिमालयमा अवस्थित आफ्नो ठूलो युरेनियम भण्डार अमेरिकालाई हस्तान्तरण गर्न लागेको भनेर लेख लेखेको छ ।

लेखमा गरिएको दावीअनुसार माथिल्लो मुस्ताङको लो मान्थाङमा रहेको ३० वर्ग किलोमिटर क्षेत्रलाई ‘मुस्ताङ विशेष क्षेत्र’ घोषणा गर्ने तयारी भइरहेको छ, जसले ‘प्याक्स सिलिका’ गठबन्धन अन्तर्गत अमेरिका र अष्ट्रेलियालाई युरेनियम प्रशोधनको विशेष अधिकार प्रदान गर्दछ।

पूर्व प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वर खनालले सम्झौतालाई अस्वीकार गरे पनि, गोप्य कागजातहरूले मार्च २०२६ मा एमसिसी परियोजनाको ऊर्जालाई नयाँ एआई डाटा सेन्टरहरूमा जडान गर्न र डाटा सार्वभौमिकता सुनिश्चित गर्न सैद्धान्तिक रूपमा सम्झौता भएको खुलासा गरिएको छ । नेपालमा रहेका अन्य सम्भावित युरेनियम साइटहरूमा मकवानपुर र सिन्धुली समावेश छन्।

२०१७ मा नेपाल र अमेरिकाबीच एमसीसी परियोजना सम्झौतामा हस्ताक्षर भएको थियो। यस सम्झौताअन्तर्गत अमेरिकाले नेपाललाई पूर्वाधार विकासका लागि अनुदान प्रदान गरेको थियो। रिपोर्टहरूअनुसार एमसीसी परियोजना मुस्ताङमा युरेनियम प्रशोधनका लागि बिजुली आपूर्ति गर्न छलफल भइरहेको छ।

नेपालको खानी तथा भूगर्भ विभागले २०१४ तिर ‘लो मान्थाङ’ (मुस्ताङ) मा ठूलो युरेनियम खानीको अस्तित्व रहेको पुष्टि गरेको थियो । यो भण्डार लगभग १० किलोमिटर लामो र तीन किलोमिटर चौडा भएको र नेपाल–चीन सीमाको धेरै नजिक (केवल १० किलोमिटर टाढा) अवस्थित रहेको भनिएको छ।

वैज्ञानिकहरूका अनुसार यहाँ रहेको मध्यम ग्रेडको युरेनियम ऊर्जा र रणनीतिक उद्देश्यका लागि महत्त्वपूर्ण मानिन्छ। नेपाल सरकारसँग हाल युरेनियम निकाल्न वा प्रशोधन गर्न प्रविधि, कोष र पूर्वाधारको अभाव छ। त्यसैले उत्खनन आवश्यक परेमा, विदेशी एजेन्सी वा देशबाट सहयोग लिनुपर्नेछ।

नवभारत टाइम्सको लेखमा उल्लेख भएअनुसार मल्टिपोलर प्रेसको एक रिपोर्टले दावी गरेको छ कि नेपाल सरकारले मुस्ताङमा फेला परेको युरेनियम प्रशोधनको जिम्मेवारी अमेरिकालाई हस्तान्तरण गर्ने तयारी गरिरहेको छ। माथिल्लो मुस्ताङको लो मान्थाङमा रहेको भनिएको युरेनियमको प्रशोधन नेपाली सेनासँगको समन्वयमा अमेरिका र अष्ट्रेलियाको संयुक्त प्राविधिक टोलीलाई हस्तान्तरण गर्ने तयारी भइरहेको छ।